परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा, आउँदो सोमवार सम्बोधन गर्ने



परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा, आउँदो सोमवार सम्बोधन गर्ने

काठमाण्डाै ८ असाेज । परराष्ट्रमन्त्री डा‍. नारायण खड्का अमेरिकाको न्युयोर्क पुगेका छन् । संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी न्युयोर्क पुगेका हुन् ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कमा रहेकाे कायममुकायम महावाणिज्य दूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेका न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले  बताए ।

परराष्ट्रमन्त्रीले आउँदो सोमवार महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा उनले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनाका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग दुई पक्षीय बैठक तथा राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने प्रवक्ता लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे