नारायणगढ-बुटवल सडकखण्ड मर्मतको काम सुरु



नारायणगढ-बुटवल सडकखण्ड मर्मतको काम सुरु

चितवन ७ असोज। नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । नेपालीहरुको ठूलो पर्व दशैं नजिक आउन थालेपछि सडक मर्मतको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गरेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले सडकको बढी भत्किएका ठाउँहरुमा दुई लेन सडक नै पिच गर्ने तयारी गरेको छ ।

नारायणगढ–बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम थालिएको हो ।

दुबै खण्ड निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । सडक विस्तारका क्रममा पिचको भाग अधिकांश ठाउँमा भत्काइएकाले यो खण्डमा यात्रा निकै कष्टकर हुँदै आएको छ । दुबै खण्डमा निकै सुस्त गतिमा काम भैरहेको छ ।

पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले सडक विस्तारको काम निकै ढिला भएको बताए । अहिले ठेकेदार कम्पनीको नयाँ कन्ट्याक्ट म्यानेजर आएपछि कामले गति लिने विश्वास आयोजनाले लिएको सूचना अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे