दुई जना मात्र बोल्न जान्ने कुसुन्डा समुदायमा अहिले गीत समेत लेखियो
दाङ १३ भदौ। हिमा कुसुन्डाले भाषा बचाउने भन्दै कुसुन्डा भाषामा गीत लेख्नुभएको छ। उनको गीतमा कुसुन्डा भाषा बचाउन सचेतनामुलक सन्देश छ । “भाषा बचाउने योजनाअनुसार गीत लेखेकी हुँ । सुरुमा नेपाली र कुसुन्डा भाषा मिलाएको थिएँ । अहिले कुसुन्डा भाषामामात्रै गीत बनाएकी छु,” उनले भनिन्।
१८ वर्षिया हिमाको घर प्युठानको सरुमारानी गाउँपालिका–६ बढीचौर हो । सुरुमा हिमालाई मातृभाषासमेत आउँदैन थियो । दाङको लमहीमा दुई वर्षअघि भाषा कक्षा सुरु भएपछि उनी अहिले कुसुन्डा भाषामा गीत लेख्न सफल भएकी हुन् । यसका लागि उनले १८० घण्टाको कोर्स पूरा गर्नुपर्याे । कुसुन्डा भाषा संरक्षण गर्ने हिमाको लक्ष्य छ ।
अहिले सुर्खेतको गुर्बाकोट नगरपालिका–५ राजी गाउँका ३६ वर्षीय तेजबहादुर ठकुरी कुसुन्डालाई पनि भाषा बोल्न आउँछ । भाषाको पहिलो चरणको कक्षा लिएपछि उनी बोल्न सक्ने भएका छन्। ठकुरीले अहिले घरमा पनि भाषा सिकाउन शुरू गरेका छन् । गाउँघरमा मातृभाषा बोल्ने मान्छे नहुँदा नियमित अभ्यास गर्न समस्या भएको उनले बताए ।
सोही गाउँकै भूपेन्द्र ठकुरी कुसुन्डा र छोरी दुर्गा ठकुरी कुसुन्डाले पनि भाषा कक्षा सिकिरहेका छन्। उनीहरू पनि घरमै कुसुन्डा भाषा बोल्ने अभ्यास गर्नुहुन्छ ।दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले ३० जनामा फैलिएको छ । यो भाषा पूर्णरूपमा बोल्ने ज्ञानीमैया र कमला कुसुन्डामात्रै थिए। ज्ञानीमैयाको गत वर्ष मृत्यु भएपछि अब कमलामात्रै बाँकी छिन् । उनीहरूकै पहलमा कुसुन्डा भाषा कक्षा चलाउन थालिएको हो ।
अहिले भाषा बचाउने र विस्तार गर्ने जिम्मेवारी कमलाको काँधमा आएको छ । पहिलो चरणको ९० घण्टाको पढाइ सकिएपछि लकडाउनकैबीच दोस्रो चरणको कक्षा चलाइएको थियो । पहिलो चरणमा २० जना सहभागीमध्ये १७ जना कुसुन्डा थिए । तीन जना अन्य समुदायका थिए । सुर्खेत, रोल्पा, प्यूठान र दाङबाट भाषा सिक्न दाङ आएका विद्यार्थी कुसुन्डा भाषाका आधारभूत कुरा बोल्न र लेख्न सक्ने भएका छन् ।
भाषा सिक्नेमा बालबालिकादेखि वयस्कसम्म छन् । पहिलो चरणमा खानपिन, सरसफाइ, नातागोता, घरायसी व्यवहारजस्ता आधारभूत कुरा सिकाउने गरिएको शिक्षक उदय आलेले बताए। पहिलो चरणको कक्षा सकेकालाई दोस्रो चरणमा ९० घण्टाकै कक्षा दिइन्छ । अब तेस्रो र चौथो चरणको कक्षा चलाउन बाँकी छ ।
पहिलो चरणमा भाषाको प्रारम्भिक ज्ञान हासिल गरेपछि दोस्रो चरणमा सामाजिक सम्बन्ध सम्बन्धी भाषा सिकाउने गरेको उनले बताए। तेस्रोमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणसहित विज्ञ बन्ने खालको शिक्षा दिने योजना बनाइएको छ ।
भाषा कक्षालाई अब परिवार र प्रविधिमा जोडेर विस्तार गर्ने योजना बनाइएको छ । सामाजिक सञ्जालमासमेत कुसुन्डा भाषा प्रयोग गर्न सबैलाई अनुरोध गरिरहेको शिक्षक आलेले बताए । कुसुन्डा भाषाका विभिन्न शब्दावली र जानकारी समेटिएका छोटा भिडियो बनाएर गाउँगाउँमा पठाउने र घरघरमा सुन्ने वातावरण बनाउने योजना छ ।
ज्ञानीमैया र कमलाले कुराकानी गरेको ४० घण्टाको भिडियो आलेसँग सुरक्षित छ । अहिले उनी त्यसलाई अनुवाद गरेर नेपाली र अंग्रेजीमा तयार गर्दै छन् । “यो एउटा ऐतिहासिक दस्ताबेज हुन्छ । दुवै जनाले घरायसी रूपमा गरेको कुराकानीलाई रेकर्ड गरिएको छ,” उहाँले भन्नुभयो, “यसमा धेरै नयाँ शब्द प्रयोग भएका छन् ।”
कुसुन्डा विगतमा जंगलमा फिरन्ते जीवन बिताउँथे । बास बस्न जंगलमा ओढार खोज्दै हिँड्थे । गाउँमा पसेर माग्थे अनि जंगलमै फर्केर खान्थे । आफ्नै भाषा, संस्कृति र परम्परा थियो । उनीहरू गाउँ बस्न थालेपछि भाषा हराउँदै गएको हो ।
गाउँ पस्दा उनीहरू छरिएर बसेकाले पनि भाषा प्रयोगमा आउन सकेन । भाषा संकटमा परेपछि नै कक्षा चलाइएको कमला कुसुन्डाले बताए । कक्षा सुरु भएपछि कुसुन्डा भाषा बोल्नेको संख्या बढ्दै गएको छ ।