जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका ३ जना सांसदलाई निष्काशन गरेको पत्र प्रदेशसभामा दर्ता



जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका ३ जना सांसदलाई निष्काशन गरेको पत्र प्रदेशसभामा दर्ता

बुटवल १४ साउन । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका ३ जना सांसदलाई निष्काशन गरेको पत्र प्रदेश सभामा दर्ता भएको छ। जसपाले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै निष्काशन गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको पत्रमा उल्लेख छ।

प्रदेश सभामा पत्र दर्ता भएपनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले सांसद पद रहने नरहनेबारे भने प्रदेश सभाले निर्णय गरिसकेको छैन। प्रदेश सभा सचिवालयमा पत्र दर्ता भएको र त्यसबारे निर्णय हुन बाँकी रहेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी विमला पौडेलले जानकारी दिइन्।

पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए। तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन्।

उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन्। तीनै जनाले सर्वोच्च अदालतमा सांसद पद थमौतीका लागि दिएको मुद्दा विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे