देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दा सम्मको राजनीतिक यात्रा



देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दा सम्मको राजनीतिक यात्रा

काठमाण्डाै २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराएकी हुन् । २००३ सालमा डडेल्धुराको असीग्राममा जन्मनुभएका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

२०२८ सालमा नेविसङ्घको सभापति बनेका देउवा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका हुन् । देउवाले राजनीतिक जीवनकालमा पटक–पटक गरी नाै वर्षभन्दा बढी समय जेल जीवन बिताएका छन् ।

देउवा २०४८ सालदेखि यताका सबै संसदीय तथा संविधान सभा चुनावमा अपराजित छन् । देउवा २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापति बनेका हुन् । २०५९ सालमा नेपाली कांग्रेस विभाजन गरेर उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बनेका थिए । २०६४ सालमा पार्टी एकीकरण गरेर देउवा पार्टीको वरिष्ठ नेता बनेका थिए ।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृह मन्त्री रहेका देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । यस पटकसम्म उनी पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् ।     २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि देउवा पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए ।

त्यस्तै २०५८ सालमा देउवा दोस्रो पटक प्रधानमन्त्री बने। तर तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि देउवालाई पदच्युत गरे  । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले पुनः देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गरे । २०६१ सालमा देउवा तेस्रो पटक प्रधानमन्त्री बने ।  यस्तै २०७४ सालमा नेकपा माओवादीको समर्थनमा चौथो पटक प्रधानमन्त्री बने ।

त्यतिखेर माओवादीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएर देउवालाई साथ दिएको थियो ।  अहिले फेरि माओवादीकै मुख्य समर्थन र एमाले तथा जनता समाजवादी पार्टीका केही सांसदको समर्थनमा सर्वोच्चको परमादेशपछि देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे