पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा देखियो
पशु स्वास्थ्यकर्मीद्धारा सचेत बन्न कृषकहरुलाई आग्रह
ओमप्रकाश गुप्ता , सिसहनियाँ २५ असोज । पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा पनि देखा परेको छ । कोरोना भाइरसले विश्वनै आक्रान्त भैरहेको अवस्थामा पशुमा पनि नयाँ भाइरस देखिन थालेको छ । नेपालका विभिन्न जिल्लाका गाई र भैंसीमा लम्पी स्किन नामको भाइरस फेला परेको हो । पछिल्लो समय यो रोग दाङ देउखुरीको राप्ती गाउँपालिकामा पनि देखा परेको राप्ती गाउँपालिका पशु सेवा शाखाले जानकारी दिएको छ । रोग देखा परेपछि पशुको उपचार समेत सुरु गरिएको छ । पशु सेवा शाखाको पहलमा मात्र रोग निर्मलीकरण गर्न नसकिने भएकोले भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङलाई जानकारी गरि उपचारकार्यमा सहयोग गर्न अनुरोध गरिएको शाखा प्रमुख शेरबहादुर हमाल रिजालले जानकारी दिएका छन् ।
संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमा समेत यो संक्रमण सर्दछ । रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्छ । यस रोगविरूद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाइभैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको वातावरण सफा राख्नु नै रोगविरूद्धको लडाइँको मुख्य हतियार हरेको शाखा प्रमुख रिजालले जानकारी दिएका छन् । लम्पी स्किन रोग विशेष गरी गाई र भैंसीमा देखिने काप्रीपक्स बिषाणु समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो । पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ देखा परेको यो रोग सन् २०१२ जुलाईमा बगलादेश र चीन तथा सन् २०१९ को अन्तय तिर भारतमा समेत देखापरेको थियो । पछिलो समय नेपालमा पनि यो रोग भित्रिएको पुष्टि भएको छ । केन्द्रीय पशु रोग अन्वेषण शाखामा गरिएको परिक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टी भएको हो ।
यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु समेत हुने शाखा प्रमुख रिजालले जानकारी दिएका छन् । देशका अन्य स्थानहरूमा समेत गाईहरूमा यो रोग सँग मिल्दो लक्षणहरू देखापरेको सूचना प्राप्त भइरहेकोमा रोगको अनुसन्धान तथा आवश्यक नमूना संकलन गरी परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाउन भेटेरिनरी प्रयोगशालाहरूलाई निर्देशन दिइसकिएको पुशुसेवा बिभागका उप महानिर्देशक सम्झना कुवर काफ्लेले बताए । दूध उत्पादनमा निकै नै नकारात्मक असर पार्न सक्ने यो रोग फैलिदै जाँदा दूधमा आत्मनिर्भर हुने लक्ष्यमा ठेस पुग्ने मात्र नभई मुख्यतया साना किसानको जीविकोपार्जन, दुग्ध क्षेत्रबाट प्राप्त रोजगारी तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ । यसका साथै रोग लागेर निको भएका पशुको छालामा हुने परिवर्तनका कारण नेपालबाट हुने गरेको छाला निकासीमा समेत नकारात्मक असर पर्न सक्छ ।