देउखुरीको लमहीमा पश्चिम नेपालकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान



देउखुरीको लमहीमा पश्चिम नेपालकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

देउखुरी टुडेकर्मी, देउखुरी २४ असोज ।
देउखुरीको लमहीमा पश्चिम नेपालकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान तीव्र गतिमा निर्माण भइरहेको छ । मैदानको करिब ९० प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । गेट निर्माणदेखि पिचको गुणस्तर र पिचमा दुबो उमार्ने काम आइसिसीको मापदण्ड अनुसार नै भइसकेको जनाइएको छ ।

लमही नगर विकास समितिका अनुसार मैदान निर्माणका लागि लमही नगरविकास समिति र राष्ट्रिय खेलकुद परिषद्ले पटकपटक गरी चार करोडभन्दा बढी खर्च भइसकेको छ । गेट निर्माण, मैदानलाई समथल बनाउने, तारबार बेर्ने, ढल निकासी, डिप बोरिङलगायतका काम भइसकेको छ ।

मैदान निर्माणमा लमही नगर विकास समितिले करिब साढे तीन करोड र राष्ट्रिय खेलकुद परिषद्ले ७५ लाख खर्च गरेको लमही नगर विकास समितिले जानकारी दिएको छ । समितिका अनुसार करिव ४ हेक्टर क्षेत्रफलको उक्त मैदानको २२ हजार दर्शक क्षमता रहेको छ ।

करिब दुई दशकअघि आ.व. ०५७÷५८ मा सुरु गरिए पनि बजेट अभाव एवं अन्य कारणले निर्माण कार्य प्रभावित हुँदै आएको थियो । २०६४ देखि भने मैदान निर्माण कार्यले निरन्तरता पाएको थियो । लमही क्रिकेट मैदान दाङको मात्र नभएर ५ नम्वर प्रदेशकै सबैभन्दा ठूलो र राम्रो मैदान हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे