गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल



गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

कास्की २७ जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । विश्वासको मत पाउन असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बनेका छन् ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गरे । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो । मतपरिणाम सुनाउँदै सभामुख नेत्रनाथ अधिकारीले पक्षमा २७, विपक्षमा ३० र एक जना मतदानमा सहभागी नभएको जानकारी दिए ।

स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे मतदानमा अनुपस्थित भए । एमालेका २७ सांसदले पक्षमा मत दिएका छन् । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका दुई जना र राष्ट्रिय जनमोर्चाका दुई जना सांसदले विपक्षमा मतदान गरेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा भने तटस्थ रहे ।

गएकाे वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका गुरुङले संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिने प्रयास गरेका थिए ।

अब संविधानको धारा १६८ काे उपधारा ५ अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमालेबाहेकका अरू दलको गठबन्धन रहेकाले जनमोर्चाका कृष्ण थापा या स्वतन्त्र सदस्य राजीव गुरुङले साथ दिएमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे