वाग्मती, प्रदेश-१, २ र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना, गर्मी उस्तै रहने



वाग्मती, प्रदेश-१, २ र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना, गर्मी उस्तै रहने

काठमाण्डाै २५ जेठ । आज प्रदेश-१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले प्रदेश-१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

आज निरन्तर लामो समय पानी पर्ने सम्भावना भने नरहेको उनले बताए । आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने देखिएको छैन । तर प्रि–मनसुनको समय भएकाले केही ठाउँमा केहीबेर ठूलो पानी र धेरै ठाउँमा सामान्य पानी पर्ने सम्भावना भने रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो भैरहवाको तापक्रम झण्डै ४० डिग्री सेल्सियसमा पुग्यो भने नेपालगञ्ज, धनगढी, जनकपुरलगायतका ठाउँमा पनि तापक्रम ३८ डिग्री भन्दा उकालो लागेको थियो । आज पनि तापक्रम हिजोको जस्तै रहेर गर्मी कायमै रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

आज काठमाण्डौ उपत्यकाको तापक्रम अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको उनले बताए । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे