पत्रकार महासंघ दाङमा पदभार तथा सपथ ग्रहण : अध्यक्ष केसीकाे १५ बुँदे कार्य योजना



पत्रकार महासंघ दाङमा पदभार तथा सपथ ग्रहण : अध्यक्ष केसीकाे १५ बुँदे कार्य योजना

दाङ ५ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाका नव निर्वाचित पदाधिकारीहरुले पदभार तथा सपथ ग्रहण गरेका छन् । शनिवार महासंघकै भवनमा एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक सुदिप गौतमले सपथ ग्रहण गराए भने निवर्तमान अध्यक्ष सविन प्रियासनले नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसीलाई पदहस्तान्तरण र पदभार गराएका हुन् ।

कार्यक्रममा पदभार ग्रहण पछि बोल्दै नवनिर्बाचित अध्यक्ष केसीले १५ बुँदे कार्य योजना प्रस्तुत गरेका छन् । पत्रकारहरुको क्षमता अभिबृद्धीका तालिम देखी ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने सम्मको कार्य योजना प्रस्तुत गरेका हुन् । त्यसैगरी, सदस्यता शुद्धिकरण गर्दै व्यवस्थित र जवाफदेही पत्रकारिताको विकास गर्ने, पत्रकार सुरक्षा कोष स्थापना गरी समस्यामा परेका पत्रकारलाई आपतकालिन सहायता उपलब्ध गराउने, ज्येष्ठ पत्रकार कोष स्थापना गरी पत्रकारितामै जीवन व्यतीत गरेका ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने केसीले बताए ।

यसैगरी, पत्रकार महिलाहरुको क्षमता विकास, सशक्तिकरण र पेशागत सुरक्षामार्फत पत्रकारितामा निरन्तरताको वातावरण निर्माण गर्ने, पत्रकारलाई श्रमजीवी पत्रकार ऐन अनुसारका सेवा सुबिधा उपलब्ध गराउन पहलकदमी गर्ने, अनलाईन पत्रकारितालाई विश्वसनीय र जवाफदेही बनाउने योजनाका साथ काम गर्ने उनको भनाई छ । साथै, विधागत पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्दै पत्रकारितालाई खोजमुलक र गुणस्तरीय बनाउने र सूचनाको हक कार्यान्वयन गराउन सरोकारवाला निकायहरुसँग समन्वय र सहजिकरण गर्ने योजना रहेको अध्यक्ष केसीले बताए ।

तीन बर्षे योजनाहरु

१. पहिलो बर्षलाई तालिम बर्षका रुपमा सञ्चालन गरी पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने र क्षमता विकासलाई प्राथमिकता साथ निरन्तरता दिने ।

२. लेखनबृत्तिमार्फत फिचर सेवा प्रकाशन गरी मिडियामा कार्यरत पत्रकार र मिडियामा आवद्ध नभएका पत्रकारलाई सक्रिय बनाउँदै पत्रकारितामा निरन्तरता र निखारता ल्याउने ।

३. न्यूज फेष्टिवेल आयोजना गरी समाचार र पत्रकारिताका पछिल्ला प्रवृत्तिबारे बहस सञ्चालन गर्ने ।

४. पत्रकार महासंघमा स्थापना भएका पुरस्कारहरुलाई लेखनबृत्तीसँग जोडेर वैज्ञानिक मापदण्डका आधारमा मात्रै पुरस्कार वितरणको व्यवस्था मिलाउने ।

५. पत्रकारिताका मूल्य मान्यता र आचारसंहिताबारे अभिमुखिकरण गराउँदै पत्रकार र पत्रकारितालाई थप मर्यादित र नैतिकवान बनाउने ।

६. सदस्यता शुद्धिकरण गर्दै व्यवस्थित र जवाफदेही पत्रकारिताको विकास गर्ने ।

७. पत्रकार सुरक्षा कोष स्थापना गरी समस्यामा परेका पत्रकारलाई आपतकालिन सहायता उपलब्ध गराउने ।

८. ज्येष्ठ पत्रकार कोष स्थापना गरी पत्रकारितामै जीवन व्यतीत गरेका ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने ।

९. पत्रकार महिलाहरुको क्षमता विकास, सशक्तिकरण र पेशागत सुरक्षामार्फत पत्रकारितामा निरन्तरताको वातावरण निर्माण गर्ने ।

१०. पत्रकारलाई श्रमजीवी पत्रकार ऐन अनुसारका सेवा सुबिधा उपलब्ध गराउन पहलकदमी गर्ने ।

११. जिल्लाका विज्ञापन जिल्लाकै मिडियालाई उपलब्ध गराउन पहलकदमी गरी मिडियाको सवलिकरण गर्ने ।

१२. अनलाईन पत्रकारितालाई मर्यादित, व्यवस्थित, विश्वसनीय र जवाफदेही बनाउन पहल गर्ने ।

१३. विधागत पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्दै पत्रकारितालाई खोजमुलक र गुणस्तरीय बनाउने ।

१४. सार्वजनिक चासो र महत्वका बिषयमा संस्थागतरुपमै स्थलगत रिपोर्टिङको व्यवस्था गर्ने ।

१५. सूचनाको हक कार्यान्वयन गराउन सरोकारवाला निकायहरुसँग समन्वय र सहजिकरण गर्ने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे