भुमिहिन किसानहरुलाई भुमिको मालिक बनाउने तयारी हुँदै छ : मन्त्री पौडेल



भुमिहिन किसानहरुलाई भुमिको मालिक बनाउने तयारी हुँदै छ : मन्त्री पौडेल

ओमप्रकाश गुप्ता, सिसहनियाँ १४ माघ ।

भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भुमिहिन किसानहरुलाई भुमिको मालिक बनाउने तयारी भइरहेको बताएकी छिन् ।लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थित दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँमा आयोजित देउखुरी बचत तथा ऋण सहकारी संस्था लि.को एकिकरण घोषणा कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।

प्रमुख अतिथि समेत रहेकी मन्त्री पौडेलले लुम्बिनी प्रदेश भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वर्षौ देखि अव्यवस्थित बसोबासी सुकुम्बासीहरुलाई भुमिको मालिक बनाउँनु पर्छ, लालपुर्जा दिनुपर्छ भन्ने उद्देश्यले आयोग बनेर त्यसको तयारी भइरहेको बताएकी छिन् ।
साथै उनले कृषि आकर्षक क्षेत्र नभएको तथा पछाडी परेकाले कृषिलाई सहि ट्रयाकमा ल्याई कृषिको व्यवसायीक र आधुनिकीकरण गर्न प्रदेश सरकार अगाडी बढेको बताइन् ।


मन्त्री पौडेलले किसानले उत्पादन गरेको वस्तुले मुल्य र बजार नपाइरहेको तथा कृषकले उत्पादन गरेको वस्तुको मुल्य किसानले तोक्न नपाई व्यापारीले तोकेको मुल्यमा उत्पादीत वस्तु बिक्री गर्नु पर्ने बाध्यता अहिले पनि कायमै रहेकाले सहकारी सँग समन्वय गरी बजारीकरण गर्ने कुराको सुरुवात गर्न खोजेको बताइन् ।

एकीकृत संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षता एवम् भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय अध्यक्ष दामोदर अधिकारी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्मा, तदर्थ समितिका कोषाध्यक्ष रामकृष्ण पौडेल, महासचिव देवप्रसाद चौधरी, लेखा सुपरीवेक्षण समितिका संयोजक रुक्माङगत ज्ञवाली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा एकिकृत सहकारी संस्थाका पदाधिकारीहरुलाई नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय अध्यक्ष दामोदर अधिकारीले सफथ ग्रहण गराएका थिए । भने विभिन्न साँस्कृतिक प्रस्तुती तथा झाँकी समेत निकालिएको थियो । संस्थाका उपाध्यक्ष जिवराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिप्रसाद भुसालले गरेका थिए ।

राप्ती गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारीलाई राप्ती गाउँपालिकाले सहकार्य गरि एकिकृत हुन आब्हान गरे पश्चात हरियाली, महाप्रभु, विहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु बिच आपसी सहमती भई २०७७ पुस २७ गतेका दिन लम्बिनी प्रदेशकी कृषि, भुमि, व्यवस्था तथा सहकारी मन्त्रालय मुकाम बुटवलको निणर्य अनुसार सहकारी ऐन, २०७६ को दफा १२ को उपदफा १ बमोजिम देउखुरी बचत तथा ऋण सहकारीको विधिवत रुपमा दर्ता गरिे औपचारिक रुपमा एकिकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्थाको नाम रहन गएको संस्थाका अध्यक्ष मल्लले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकिकृत गर्दै एक व्यवसायिक, नीतिगत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्दै यस देउखुरी क्षेत्रको विकास तथा प्रबद्र्धनको लागि संस्थामा आबद्ध सदस्यहरु मार्फत लगानी विस्तार गर्दै अन्तरराष्ट्रिय स्तरको आत्मनिर्भर, बलियो नमुना सहकारी निर्माण गर्ने उदेश्य अनुसार एकीकरण गरिएको एकिकृत सहकारी देउखुरी बचत तथा ऋण सहकारीका अध्यक्ष मल्लले जानकारी दिए ।

सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्विनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकिकरण हुन सक्ने व्यवस्था गरे बमोजिम चार सक्रिय सहकारीहरु एकीकृत भएका हुन् ।

देउखुरी बचत तथा ऋण सहकारीमा १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति रहेको छ भने संस्थाको नेतृत्व शिवध्वज मल्लले र लेखा सुपरिबेक्षण समितिको संयोजकमा रुकमाङगत ज्ञवाली रहेका छन् । चार सहकारीको विवरणको आधारमा पुरुष ३ हजार ४ सय १९, महिला २ हजार ७ सय ८ र संस्थागत सदस्य १९ गरी जम्मा सदस्य संख्या ६ हजार १ सय २७ र जम्मा पुजी ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैया लाई चार वटा सेवा केन्द्रहरु मार्फत व्यावस्थापन गरिएको बताइएको छ ।

एकिकृत चार बचत तथा ऋण सहकारी संस्थालाई प्रभावकारी रुपमा संचालन गर्नको लागि चरणबद्ध रुपमा कार्यक्रमहरु अगाडी बढाईने भएको छ । पहिलो चरणमा सहकारीका मुल्य मान्यता र सिद्धान्तका विषयमा अवगत गराउने, दोस्रो चरणमा सबै संञ्चालक कर्मचारी र केही सदस्यहरुलाई सहकारी जागरणबाट सशक्तिकरण गरी क्षमता अभिवृद्धि गर्ने, तेस्रो चरणमा साकोस व्यावसायीकरण गर्ने, व्यावसायीकरणमा संस्थाको त्रिवर्षिय योजना वार्षिक कार्य योजना मासिक र त्रैमासिक कार्ययोजना, संस्थाको निति, विधि, र प्रविधिलाई आत्मसाथ गर्ने गराउने र चौथो चरणमा साकोसमा गुणस्तर सुनिश्चिताको मापन विधि, लेखा, पल्र्स अनुगमन प्रणालीमा आर्थिक विश्लेषणमा एकरुपता गरि काम सुरु गरिएको छ ।

देउखुरी बचत तथा ऋण सहकारीको केन्द्रिय कार्यलय राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहने साथै जनजीविका सेवा केन्द्र भालुवाङ, महाप्रभु सेवा केन्द्र लालमटिया, बिहानी सेवा केन्द्र पत्थरगढवा र हरियाली सेवा केन्द्र फल्कापुरबाट सेवा प्रारम्भ गर्ने गरि काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे