राप्तीका १५५ जना कृषकहरूलाई नामसालिङ संस्थाद्वारा फलफूलका बिरुवा वितरण



राप्तीका १५५ जना कृषकहरूलाई नामसालिङ संस्थाद्वारा फलफूलका बिरुवा वितरण

भालुवाङ २६ साउन । नामसालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिकाका १ सय ५५ जना किसानहरूलाई फलफूलको बिरुवा वितरण गरेको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङ सँगको समन्वयमा नामसालिङले राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत उन्नत जातका फलफूलका बिरुवा वितरण गरेको हो ।

परियोजनाको घर बगैंचा प्रवर्धन कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकाका १ सय ५५ कृषकहरुलाई संस्थाकी कृषि प्राविधिक धनकुमारी चौधरी मार्फत फलफूलका बिरुवा सही तरिकाले रोप्ने र संरक्षण गर्ने तरिकाका सम्बन्धमा अभिमुखिकरण गराएर उन्नत जातका आँप, लिची, कागती र केराका बिरुवा वितरण गरिएको नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शशाङ्क आचार्यले बताए ।

वि.सं.२०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा वि.सं.२०७४ देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गर्दै समुदाय विकासलाई अगाडि बढाउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे