गृह जिल्ला रोल्पा पुगेर लुम्बिनीका मुख्यमन्त्री महराले मनाए २१औं राष्ट्रिय धान दिवस



गृह जिल्ला रोल्पा पुगेर लुम्बिनीका मुख्यमन्त्री महराले मनाए २१औं राष्ट्रिय धान दिवस

रोल्पा १५ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गृहजिल्ला रोल्पाको सुनिलस्मृति गाउँपालिका- ५ काभ्रामा पुगेर २१औं राष्ट्रिय धान दिवस मनाएका छन् । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्‍ने नाराका साथ २१औं राष्ट्रिय धान दिवसलाई व्यवहारमा लागू गर्न मुख्यमन्त्री महराले रोल्पाबाट प्रदेशवासीलाई सन्देश दिएको उनको सचिवालयले जनाएको छ ।

रोल्पाका कृषकहरु सँगसँगै खेतमा धान रोपाइँ गरी मुख्यमन्त्री महराले असार १५ लाई कृषि क्षेत्रको विशेष दिनका रुपमा मनाए । ‘जनआकांक्षा पूरा गर्ने हाम्रो सङ्कल्पः दिगो विकास र सुशासनमात्र विकल्प’ भन्ने लुम्बिनी प्रदेश सरकारको नारालाई साकार पार्न कृषकहरुसँग हातेमालो गरेर सरकार अगाडि बढ्ने जमर्को गरेको मुख्यमन्त्री महराले बताए ।

उनी दिनभरजसो स्थानीय कृषकसँग खेतमा रोपाइँ तथा खनजोतमा व्यस्त रहे । उनले कृषि क्षेत्रलाई संस्थागत रुपमा अगाडि बढाउन नीतिगत रुपमा र व्यवहारमा कार्यान्वयन गर्न जरुरी भएकाले भाषण तथा वक्तव्यबाजी नगरी कार्यक्षेत्रमा खटिएर सबैले काम गर्नुपर्ने बताए ।

धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र कृषि क्षेत्रको विस्तारमा लुम्बिनी प्रदेश सरकारले ध्यान दिएको मुख्यमन्त्री महराको भनाइ छ । जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत् धान बालीको उत्पादन बढाउने रणनीतिमा लाग्न मुख्यमन्त्री महराले किसानहरुलाई सुझाव दिए ।

राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, पूर्वअध्यक्ष गुणेन्द्र घर्ती र पूर्वउपाध्यक्ष बागमती क्षत्रिनी, वडा अध्यक्ष तथा सदस्यहरु र स्थानीय किसानहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे