खडेरी परिरहेको बाँकेमा लुम्बिनी सरकारले मनाइयो प्रदेशस्तरीय २१ औ राष्ट्रिय धान दिवस



खडेरी परिरहेको बाँकेमा लुम्बिनी सरकारले मनाइयो प्रदेशस्तरीय २१ औ राष्ट्रिय धान दिवस

नेपालगञ्ज, १५ असार । असार १५ अर्थात धान दिवसको दिन सम्म बाँकेमा खेतका गह्रा धुलाम्मे छन् । खेत रोपेर हरियो हुने बेलामा लामो खडेरीका कारण पानी पर्ला र खेत रोपौला भन्ने आशामा किसान बसिरहेका छन् । बाँकेका धेरै भूभागमा पानी नपरे पनि कृषि ज्ञान केन्द्र बाँकेले नेपालगञ्ज उपमहानगरपालिका– १९ पुरैनीमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रिय धान दिवसको कार्यक्रम आयोजना गरी २१ औ राष्ट्रिय धान दिवश मनाएको छ ।

२१ औ राष्ट्रिय धान दिवस देशभर मनाई रहँदा बाँकेमा लामो खडेरीका कारण किसानले धानको विउ समेत राख्न सकेका छैनन् । खडेरीका कारण राखेको विउ पनि गह्रामै धाँजा फाटेर सुकेको अवस्थामा छ ।

बाँकेका किसानले आकाशे पानीको भरमा खेती गर्नु आफुहरुको बाध्यता भएको दुखेसो छ । उनीहरु राज्यबाट आफुहरुमाथि जहिले पनि उपेक्षा गरिएको बताउँछन् । बाँके डुडुवा–६ का किसान रतिराम कुम्हारले धान रोप्ने बेलामा आफ्नो खेत धुलाम्मे भएको बताए । उनले भने– ‘जमिनमा गाडेको बोरिङ्गले पनि पानी दिंदैन, लो भोल्टेज हुन्छ मोटर चल्दैन, सिचाईको व्यवस्था छैन कसरी खेत रोप्ने हाम्रो समस्या कसले बुझिदिने ।’

नेपालगञ्ज १९ का विनोद गिरीले असारको १५ गतेसम्म पानी नपर्दा आफुहरु मर्कामा परेको बताए । ‘जसोतसो विउ राखेपनि खेतमा पानी छैन कसरी रोप्ने, राखेको विउपनि बुढो हुँदै गयो, छिप्पिएको बिउ रोपेर उत्पादन कस्तो हुने हो साह्रै नै मर्कामा परेका छौ’–दिक्क हुँदै भने । कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख शकिल अहमदले बाँकेमा २१ औ धान दिवस मनाईरहँदा २ प्रतिशत मात्र रोपाई भएको बताए । उनले यो वर्ष साविकको वर्षहरुमा भन्दा बढी जमिनमा धान खेती हुने र उत्पादन पनि बृद्धि हुने अपेक्षा गरिएको बताए ।

उनका अनुसार अघिल्लो वर्ष यो अवधिमा करिव २० प्रतिशत रोपाई हुने गरेको थियो । तर, यो वर्ष भने २ प्रतिशतमै सीमित भएको कारण खडेरीको सामना गर्नुपर्ने त होईन भन्ने चिन्तासहितको प्रश्न बोकेर किसान आउने गरेको उनको भनाई छ ।

लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले बाँकेमा सिचाईको अभावको कारण किसान मर्कामा परेको बताउँदै बाँकेमै रहेको रष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजना भए पनि समयमा निर्माण पूरा हुन नसक्दा खडेरीमा पनि आकाशे खेतीमा भर पर्नु परेको उल्लेख गर्दै प्रदेश सरकारले वैकल्पिक सिचाईको व्यवस्था मिलाउने बताए ।

उनले भने– ‘सिक्टा निर्माण पूरा भएर किसानको खेतसम्म पानी आउने कहिले हो कहिले, किसानको समस्या समाधानको लागि प्रदेश सरकारले वैकल्पिक सिचाईको लागि डिप बोरिङ्गको व्यवस्था गर्ने गरी बजेटमा पारेको छ ।’

२१ औ राष्ट्रिय धान दिवस कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले गरेका थिए । समारोहमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थी, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसी नमूना, कृषि मन्त्री भण्डारीलाल अहिर, प्रदेश सांसद दूर्गा प्रसाद चौधरीलगायतको उपस्थिति रहेको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिभिएन कलेज नेपालगञ्जका विद्यार्थीहरुले धान रोपेर धान दिवसको सुरुवात गरिए पनि लामो खडेरीका कारण किसानका खेतका गह्रा भने सुख्खा छन् । सधै आकाशे पानीको भरमा गरेको खेतीले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने अवस्था नभएकोले संघ र प्रदेश सरकारले बैकल्पिक सिचाईको समाधान खोज्न आवश्यक रहेको देखिन्छ ।

-बुटवल टुडेबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे