प्यूठानकाे साना किसान सहकारी संस्था बाङ्गेसालले गाउँपालिका स्तरिय सहकारी बिस्तार गर्दै



प्यूठानकाे साना किसान सहकारी संस्था बाङ्गेसालले गाउँपालिका स्तरिय सहकारी बिस्तार गर्दै

भालुवाङ २६ कार्तिक । प्यूठानको सरूमारानी गाउँपालिका-१, बाङ्गेसाल स्थित साना किसान कृषि सहकारी संस्थाले आफ्नो संस्थालाई सरूमारानी गाउँपालिका भरि बिस्तार गरेको छ । संस्थाको शनिबार आफ्नै कार्यालय परिसर बाङ्गेसालमा भएको २४ औँ बार्षिक साधारणसभाले संस्थालाई सरूमारानी गाउँपालिका स्तरिय बनाउने गरी क्षेत्र बिस्तार गर्ने निणर्य गरेको हो ।

संस्थालाई पालिका स्तरिय बनाउन सरूमारानी गाउँपालिकाको वार्ड नम्बर ३, ४, ५ र ६ मा बिस्तार गर्ने गरी निणर्य गरेको छ । हाल उक्त संस्था साविकको बाङ्गेसाल गाविस तथा हालको सरूमारानी गाउँपालिका वार्ड नम्बर १ र २ लाई कार्यक्षेत्र बनाएर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

संस्थाका अध्यक्ष कुलदिप जिसीको अध्यक्षतामा भएको साधारणसभालाई सम्बोधन गर्दै पूर्व संविधानसभा सदस्य धनबहादुर राईमाझीले नेपाल कृषि प्रधान देश भने पनि कृषिमा आत्मानिर्भर हुन नसकेको बताए । उनले जब सम्म कृषिमा तीन वटै सरकारको लगानी हुँदैन तब सम्म देश कृषिमा आत्मानिर्भर हुन नसक्ने दाबी गरे । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका राइमाझीले अहिले पनि करोडौँका कृषिजन्य समानहरु बाहिरी देशबाट आउने गरेकोले स्थानीय, प्रदेश र संघ सरकारले बिशेष योजना बनाएर कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने जाेड दिए ।

त्यस्तै साधारणसभामा बिशिष्ट अतिथीको आसनबाट बोल्दै नेपाल कृषि सहकारी संघकी केन्द्रीय कोषाध्यक्ष पदमा आचार्यले सरकारीलाई सफल र उत्कृष्ट बनाउन खराब ऋणहरु कम गर्न र बार्षिक कार्ययोजना अनुसार काम गर्न सुझाब दिएकी थिइन् । उनले सहकारी संस्थालाई उत्कृष्ट बनाउने ठुलो भूमिका शेयर सदस्यहरुकै भएको जोड दिइन् ।

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथीकै आसनबाट बोल्दै सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्त खड्काले आफू सरुमारानी गाउँपालिकाको उपाध्यक्ष बन्ने अवसर पनि यही सहकारी भएको बताइन् । उनले सरुमारानीमा सहकारी र कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छिन् ।

संस्थाकी कार्य समिती सदस्य नर्मदा गिरीको स्वागत मन्तव्यबाट शुरू भएको साधारणसभा संस्थाका अध्यक्ष कुलदिप जिसीले आगामी योजना सहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाका आन्तरिक लेखा समिती संयोजक शिवप्रसाद घिमिरेले लेखा प्रतिवेदन र संस्थाका प्रबन्धक निमराज आचार्यले बार्षिक रणनैतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा कुल नाफा २ करोड ३९ लाख गर्न सफल भएको छ । वि.सं. २०५४ सालमा स्थापना भएको यस संस्थामा हाल १ सय ९४ समूह गठन गरी १ हजार २ सय ११ जना सेयर सदस्य रहेको प्रबन्धक आचार्यले जानकारी दिए । त्यस्तै संस्थामा हाल शेयर पुजी ३ करोड ९५ लाख ९४ हजार रहेको छ भने ऋण लगानी ३२ करोड ८१ लाख २९ हजार रहेको संस्थाका प्रबन्धक आचार्यले जानकारी दिए  ।

सो अवसरमा सरूमारानी गाउँपालिका १ नम्बर वडा अध्यक्ष नरबहादुर घर्ती, २ नम्बर वडा अध्यक्ष भानुभक्त भुसाल, सरसस्वती माध्यमिक विद्यालयका प्रधानध्यापक निर्मल शर्मा, ऐरावती बहुउद्देश्यीय सहकारी संस्था बडडाँडाका उपाध्यक्ष मुक्तिराम शर्मा र पत्रकार नेत्र खनाल लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाकी वर्तमान उपाध्यक्ष बसन्ता खड्का सरूमारानी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएर जनप्रतिनिधि भएको भन्दै उनलाई फुलमाला टिका लगाई बधाई ज्ञापन गर्दै बिदाई गरेको छ भने उक्त रिक्त उपाध्यक्ष पदमा कार्यसमितीकी सदस्य नर्मदा गिरीलाई सर्वसम्मत चयन गरेको छ । कार्यक्रमको सञ्चालन संस्थाका धितो मूल्यांकन मूल्यांकन समितीका सदस्य ज्ञानुप्रसाद खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे