राप्ती गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले हलो जोत्न थालेपछि…..



राप्ती गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले हलो जोत्न थालेपछि…..

सिसहनियाँ १५ असार । विहानको करिब साढे ९ बजेको थियो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरी सहित गाडीमा आएको टोलीले राप्ती गाउँपालिका वडा ८ पिपरी गल्ली भित्र पस्यो। त्यसपछि गाउँपालिकाका अध्यक्ष विष्ट र उपाध्यक्ष चौधरी सहितको टोली सरासर खेत भित्री पस्यो । अध्यक्ष विष्ट हलो जुवा सहित खेत जोत्न सुरु गरे ।

त्यसपछी उपाध्यक्ष चौधरीले पनि खेत जोत्नु सुरू गरिन् । त्यस लगतै प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले पनि खेत जोते । ३ जनाले पालैपालो खेत जोते पछि खेत धान रोप्नको लागि पूर्ण रुपमा तयार भयो । तयार भएको खेतमा पालिका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरु धानको ब्याड लिएर खेतमा पसे र सबैले सामूहिक रुपमा धान रोप्दै, हिलो छ्याप्दै धान रोपाई सुरु गरे । यो कुनै नाटक वा काल्पनिक कथा थिएन ।

 

प्रसंग थियो १९ औं राष्ट्रिय धान दिवसको । राती गाउँपालिका कृषि विकाश शाखाको सहयोगमा साना किसान कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ५ सिसहनियाले बुधबार राप्ती गाउँपालिका ८ पिपरीमा आयोजना गरेको १९ औं धान दिवसको अवसरमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा पालिका अध्यक्ष विष्ट, उपाध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृत रिजालले सामुहिक रूपमा खेत जोत्नुका साथै रोपाइ समेत गरेका थिए। राप्ती गाउँपालिका ८ पिपरी स्थित रिमबहादुर गुरुङको करिब २ कठ्ठा जग्गामा सामुहिक रुपमा धान रोपाई गर्नुको साथै दहि, चिउरा खाएर यस वर्षको धान दिवस मनाएको कृषि विकास शाखा प्रमुख सिमा भट्टले जानकारी दिएकी छिन् ।

 

 

सो – अबसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय नेपालीहरु कृषि पेशाबाट विस्थापित हुन थालेको र धान उत्पादनमा समेत गिरावट आएको हुँदा यस्ता दिवसले कृषि कर्म गर्ने किसानहरू प्रति मनोवल वृद्धि हुनुका साथै सम्मान मिल्ने बताए । त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले किसानहरुलाई रसायनिक मलको अभाव रहेको प्रति गम्भीर रहेको बताउँदै उनले चाहेर पनि पालिकाले मल व्यवस्थापन गर्न नसक्ने र यो राष्ट्रिय समस्या भएको बताइन् ।

हाल राप्ती गाउँपालिकाको कुल क्षेत्रफलको ६९. ६२ वर्ग किलोमिटर कृषि क्षेत्र रहेको छ । ३ हजार ३ सय ४७ हेक्टरमा १६ हजार ९ सय ८० मेट्रिक टन कृषि उत्पादन हुने गरेको कृषि विकास शाखा प्रमुख सिमा भट्टले जानकारी दिइन् । उक्त राष्ट्रिय धान दिवस कार्यक्रममा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरु गरि करिव ४० जना बढीको सहभागीता रहेको थियो । सो अवसरमा असार १५ मा खाइने दहि चिउरा समेत खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे