खेतीबालीको सिजनसँगै कृषकलाई फेरी पनि मलको चिन्ता, दाङमा रासायनिक मलको अभाव



खेतीबालीको सिजनसँगै कृषकलाई फेरी पनि मलको चिन्ता, दाङमा रासायनिक मलको अभाव

दाङ १९ जेठ । दाङमा रासायनिक मलको अभाव देखिएको छ । सरकारले समयमै रासायनिक मल उपलब्ध नगराउँदा यस वर्ष पनि मलको अभाव देखिन थालेको हो । जिल्लामा रहेक वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव हुँदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका अनुसार जिल्लामा हाल ४ सय ७ मेट्रिक टन डिएपी मल मात्रै स्टक रहेको छ । तर युरिया मल भने जिल्लामा नै अभाव रहेको छ । समयमै पर्याप्त मात्रामा मल नआउँदा मल वितरणमा समस्या भइरहेको शाखाले बताएको छ । जिल्लामा यस वर्ष जम्मा ४० प्रतिसत मात्रै रासायनिक मल वितरण गरिएको छ ।

खेतीपातीको सिजन शुरू भएपनि केन्द्रबाटै मल नआउँदा जिल्लामा कृषकलाई मल वितरण गर्न कठिन भएको घोराही शाखाले जनाएको छ । धान खेती गर्न घोराही क्षेत्रका लागि एक हजार दुई सय मेट्रिक टन युरिया र आठ सय मेट्रिक टन डिएपी आवश्यक पर्छ । तर आवश्यकता पूरा गर्ने मल कृषि सामग्री कम्पनीसँग नभएको कम्पनीका घोराही शाखा प्रमुख टोपाराम गौतमले जानकारी दिए ।

अहिले गोदाममा मल नभए पनि यस अघि कृषकले प्रसस्त मात्रामा खरिद गरेर लगेको मल ढुक्कका साथ प्रयोग गर्न आग्रह गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रबन्धक टोपाराम गौतमले असार पहिलो हप्ता मल आउने हुँदा आगामी दिनमा मल अभाव नहुने बताए ।

घोराहीमा आउने रासायनिक मल रोल्पा, रूकुम पश्चिम र तुलसीपुरमा आएको मल सल्यानसम्म वितरण गरिँदै आइएको छ । जिल्लामा खेतीयोग्य कूल २९ लाख पाँच हजार ५ सय हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६९ हजार ९ सय ५० हेक्टर रहेको छ । जसमध्ये ६५ हजार ९ सय ८० हेक्टर जमिनमा मात्र खेती हुने गरेको छ ।

रूस र युक्रेनबीचको युद्धका कारण रासायनिक मल आयातमा रोक लागेपछि मल अभाव भएको सरकारको भनाइ छ । जसका कारण नेपाल सरकारले हाललाई भारत सरकारसँग जीटूजी मार्फत मल खरिद प्रक्रिया अघि बढाएको जनाएको छ ।

समयमै रासायनिक मल उपलव्ध गराउन किसान संघको माग

जिल्लामा किसानलाई समयमै रासायनिक मल उपलव्ध गराउन माग गर्दै नेपाल किसान संघ दाङले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

बर्षादको समय सुरु भैइसक्दा पनि किसानले मकै र धान खेतीमा प्रयोग गर्नका लागि रासायनिक मल नपाउनु दुःखद भएको भन्दै किसान संघले अभिलम्व किसानलाई मलको व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

रासायनिक मलको अभाव हुनु नेपालको नीतिगत समस्या भएपनि समयमै खरिद प्रक्रिया सुरु नगरि अशोभाविक रुपमा अभाव सिर्जना गरिनु अस्वभाविक र दुःखद भएको नेपाल किसान संघका अध्यक्ष गोर्वधन शर्माले बताए ।

साथै विज्ञप्तिमा सम्वन्धीत निकायलाई कसैको दवाफ र प्रभावमा नपरेर सहज रुपमा रासायनिक मल युरिया, पोटास र डिएपी मल जतिसक्यो चाडो किसानको घरघरमै उपलव्ध गराउने व्यवस्था मिलाउन समेत सरकारसँग माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रासायनिक मलको समस्या राष्ट्रिय समस्या भएको भन्दै समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताएका थिए ।

उनले जिल्लामा किसानले भागेको समस्या गृह मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयसम्म पठाउने समेत बताएका थिए । ज्ञापनपत्र बुझाउन किसान संघका जिल्ला अध्यक्ष शर्मासँगै नेपाली कांग्रेस क्षेत्र नं.२ (क) का सभापति प्रकाश श्रेष्ठलगायतका नेता तथा किसानहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे