प्युठानको बेसीगाउँका महिलाहरु बाख्रापालन तर्फ आकर्षित



प्युठानको बेसीगाउँका महिलाहरु बाख्रापालन तर्फ आकर्षित

प्युठान १४ पुस । प्युठानको सरूमारानी गाउँपालिका वडा नम्बर ४ बेसिगाउँका स्थानीय महिलाहरु बाख्रापालन तर्फ आकर्षित भएका छन् । मगर समुदायको बाक्लो बस्ती रहेको सो गाउँका महिला दिदीबहिनीहरुले बाख्रा पालेर आफ्नो जिवन निर्वाह गरिहेका छन् । जिल्लाको बिकट गाउँ मानिने बेसीगाउँका अधिकाशंको घरमा बाख्रा पालन गरेको देखिन्छ । त्यहाँ एक आपसमा बोल्दा मगर खाम भाषामै बोल्ने गरिन्छ । कालिमाटी महिला समुहमा आवद्ध महिलाहरु पछिल्लो समय बाख्रा पालन गर्दै आएका छन् ।

गाई बाख्रा पाल्ने, खेतीपाती गर्ने त्यहाँको मुख्य पेशा हो । रोजगारीका लागि कोही तेस्रो मुलुक पुगेका छन त कोही भारत र कोही नेपालका बिभिन्न शहरमा पुगेका छन् । तर महिला दिदी बहिनीहरुले भने बाख्रा पालेर घर व्यवहार चलाई रहेका छन् । श्रीमानको हात थाप्न परेको छैन । महिलाहरुले केहि गर्न सक्दैनन भन्नेहरुलाई एउटा गतिलो उदाहरण समेत बनेको छ ।

किसानको आयस्तर बढाउन सरूमारानी गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामिण विकास समाज नेपालको साझेदारीमा सरूमारानी गाउँपालिका वडा नम्बर ४ बेसिगाउँका निम्न आयस्तर भएका २५ जना महिला किसानलाई निशुल्क बोका र बाख्रा उपहार स्वरुप वितरण गरिएकोे छ । सरुमारानी गाउँपालिकाले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संचालन गरेको छ । निम्न आयस्तर भएका किसानको जीवनयापनमा सजिलो होस् भनेर स्थानीय पालिकाले ती साझेदार संस्थाले सहकार्य गरेको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सरूमारानी गाउँपालिका वडा नम्बर ४ बेसिगाउँ कालिमाटी महिला समुहका २५ जना महिला किसानलाई दुई लाख तिस हजार मुल्य बराबरको २५ वटा बाख्रा र एउटा बोका उपहार प्रदान गरेको हेफर प्रोजेक्ट नेपालका अधिकृत जगत चौधरीले बताए । ग्रामिण विकास समाज नेपालका अध्यक्ष यमराज खनालको अध्यक्षता एवम् सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष चिन्ताबहादुर सोमै मगर लगायतका वक्ताहरुले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन ग्रामिण विकास समाज नेपालका कार्यक्रम संयोजक बेदुराज शर्माले गरेका थिए । यसभन्दा अगाडि तालपानी र दाङसिङ्ग मांद्रे कृषक महिला समुहलाई सोहि मुल्य बराबरको २५ वटा बाख्रा र एउटा बोका वितरण गरिएको अधिकृत चौधरीले जानकारी दिनु भएको छ । बाख्रा वितरणको लागी सरुमारानी गाउँपालिकाले एक करोड ५० लाख र हेफर प्रोजेक्ट नेपालले ५५ लाख बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे