साना किसान सहकारी बाङ्गेसालको अध्यक्षमा : जिसी



साना किसान सहकारी बाङ्गेसालको अध्यक्षमा : जिसी

भालुवाङ २८ कार्तिक । प्यूठानको सरुमारानी गाउँपालिका—१ बाङ्गेसाल स्थीत साना किसान सहकारी संस्था लिमिटेडको अध्यक्षमा कुलदिप जिसी सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार आफ्नै कार्यालय परिसर बाङ्गेसालमा भएको प्रतिनिधिमूलक २३ औँ बार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनले जिसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा बसन्ता खड्का, सदस्यहरुमा उदयबहादुर केसी, नारायणबहादुर गुरुङ, चिन्ताबहादुर ल्वोहार, भुमिराम पोख्रल, माधव पोख्रेल, बिष्णुप्रसाद घिमिरे, बिमला अधिकारी, प्रेमबहादुर गुरुङ, मनोनित सदस्यहरुमा नर्मदा गिरी, बिमला सुनार, इन्द्रमोहन अमात्य र पदेन सदस्यमा संस्थाका प्रबन्धक निमराज आचार्य रहेका छन् ।

त्यसैगरी साधारणसभा तथा अधिवेशनले शिवप्रसाद घिमिरेको संयोजकत्वमा खगेश्वर शर्मा अधिकारी र महेशकुमार राइमाझी रहेको तीन सदस्यीय लेखा समिती समेत सर्वसम्मत चयन गरेको छ ।

संस्थाका अध्यक्ष टंकबहादुर जिसीको अध्यक्षता एवम् पूर्व संविधानसभा सदस्य धनबहादुर राइमाझीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै पूर्व संविधानसभा सदस्य राइमाझीले सहकारी संस्थाका सञ्चालक र शेयर सदस्यहरु कम्मर कसेर लाग्न आवश्यक रहेकोे बताए । साधारणसभाको उद्घाटन गर्दैै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राइमाझीले अब सहकारी संस्था मार्फत कृषिमा आधुनिकरण र व्यवसायिकरण आवश्य रहेको बताएका छन् ।

संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा १ करोड ४० लाख २ हजार ५ सय २४ रुपैयाँ १९ पैसा नाफा गर्न सफल भएको छ । संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा ३ करोड ६९ लाख ११ हजार ४१ रुपैयाँ १९ पैसा बराबरको कारोबार गरेको छ ।

सभामा संस्थाका अध्यक्ष जिसीले अध्यक्षको प्रतिवेदन, संस्थाका प्रबन्धक निमराज आचार्यले संस्थाको भावी योजना सहितको रणनैतिक योजना तथा बार्षिक एवम् आर्थिक प्रतिवेदन र लेखा समितीका संयोजक शिवप्रसाद घिमिरेले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाकी उपाध्यक्ष राधा अमात्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथी सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले सहकारी संस्था मार्फत मात्र देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताए ।

त्यस्तै कार्यक्रमका आर्का बिशिष्ट अतिथी साना किसान लघुबित्त बित्तिय संस्था ईलाका कार्यालय नेपालगञ्जका बरिष्ठ अधिकृत बिष्णुप्रसाद कालाथोकीले सहकारी संस्था नै परिवर्तनको संवाहक भएको बताए । उनले कृषिमा देशलाई आत्मानिर्भर बनाउन सरकारले कृषि सम्बन्धी सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा सरुमारानी गाउँपालिका १ नम्बर वडाध्यक्ष मुकुन्दराज शर्मा, सरुमारानी गाउँपालिका सहकारी प्रमुख टुकप्रसाद काफ्ले, ऐरावती साना किसान सहकारी संस्थाका कोषाध्यक्ष दधिराम खनाल र रेडियो राप्ती/राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा संस्थाबाट ऋण लिएर उत्कृष्ट कृषि, पशुपालन तथा तरकारी खेती गर्ने ५४ जना किसानहरुलाई नगद, प्रमाण—पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।

त्यस्तै सभामा उत्कृष्ट छोरी बचत गर्ने सृष्टि भण्डारी, उत्कृष्ट बाल बचत गर्ने उत्सव भण्डारी र उत्कृष्ट व्यक्तिगत बचत गर्ने सुष्मा मस्याङ्गीलाई पनि नगद, प्रमाण—पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रमको संञ्चालन संस्थाका ऋण समिती सदस्य ज्ञानुप्रसाद खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे