LISTEN LIVE RADIO

भारतमा किसान आन्दोलन चर्किदै, मंसिर २३ गते भारत बन्दको घोषणा



भारतमा किसान आन्दोलन चर्किदै, मंसिर २३ गते भारत बन्दको घोषणा

नयाँदिल्ली १९ मङ्सिर ।  भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन थप चर्काउँदै लगेका छन्। यसैबीच किसानहरुले आगामी डिसेम्बर ८ (मंसिर २३) मा भारत बन्दको घोषणा गरेका छन्।

उनीहरुले कृषि कानुनको विरोधमा आन्दोलन चर्काएको आज नवौँ दिन हो। केन्द्र सरकार र किसानबीच शनिबार फेरि वार्ता हुँदैछ। वार्ताको अघिल्लो दिन उनीहरुले भारत बन्दसहितका आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन्।

अब दिल्ली प्रवेश गर्ने थप सडकहरु समेत बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन्।

किसानहरुको आन्दोलनप्रति समर्थन पनि बढ्दै गएको छ। पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले पनि आन्दोलनमा समर्थन जनाएको छन्। उनले केन्द्र सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरुको साथमा रहेको बताएकी हुन्।

यसैबीच लेखकहरुसहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुले किसानहरुको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कारहरु फिर्ता गर्ने घोषणा पनि गरेका छन्।

पछिल्ला ९ दिनदेखि लाखौँको संख्यामा पञ्जाब, हरियाणासहित कैयौँ राज्यका किसानहरु दिल्लीको सीमामा पुगेर आन्दोलन चर्काएका छन्। किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनाएका हुन्।

कृषि कानुन खारेज गर्नुपर्ने उनीहरुको माग छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे