LISTEN LIVE RADIO

भारतमा सुरक्षाकर्मी बोकेको गाडीमा माओवादीको आक्रमण, ११ जनाकाे ज्यान गयाे



भारतमा माओवादीहरूले गरेको बम आक्रमणमा १० सुरक्षाकर्मीसहित ११ जनाको ज्यान गएको छ । छत्तीसगढ राज्यको दन्तेवाडामा भएको आक्रमणमा डिस्ट्रिक्ट रिजर्भ गार्डका १० जना जवान र एक जना चालकको ज्यान गएको भारतीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना पाएपछि एउटा गाडीमा सुरक्षाकर्मीको टोलीलाई त्यसतर्फ पठाइएको र फर्कने क्रममा माओवादीहरूले विस्फोट गराएका प्रहरीले जनाएको छ । खनिज पदार्थको धनी राज्य छत्तीसगढले साढे तीन दशकदेखि माओवादी सशस्त्र द्वन्द्व झेलिरहेको छ । भारतमा माओवादी विद्रोह पश्चिम बङ्गालको दुर्गममा सन् १९६० मा सुरु भएको हो ।

भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी आन्दोलनलाई पनि मानिन्छ । अहिले झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, बिहार, छत्तीसगढ, उत्तर प्रदेश र कर्नाटक राज्यमा माओवादीको प्रभाव छ । यसअघि सन् २००७ मा माओवादीले छत्तीसगढको एउटा प्रहरी चौकीमा आक्रमण गरी ५५ प्रहरीको हत्या गरेको थियो भने सन् २०१० मा जङ्गलमा अर्धसैनिक बलमाथि आक्रमण गर्दा कम्तीमा ७६ जनाको ज्यान गएको थियो । त्यसयता पनि आक्रमण र हत्याको शृङ्खला चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे