LISTEN LIVE RADIO

इराकमा कोरोना अस्पतालमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ८२ पुग्यो



इराकमा कोरोना अस्पतालमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ८२ पुग्यो

काठमाण्डाै १२ बैशाख । इराकमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको उपचार भइरहेको सघन उपचार कक्षामा भएको आगलागीमा परि ज्यान गुमाउनेको सङ्ख्या ८२ पुगेको छ ।

राजधानी बग्दादमा रहेको इबन अल–खातिभ अस्पतालमा शनिवार राति भएको आगलागीमा कम्तीमा ८२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । आगलागीका कारण एक सयभन्दा धेरै घाइते भएका छन् ।

अक्सिजन सिलिन्डर विस्फोटबाट आगलागी सुरु भएको बताइएको छ । अस्पतालमा अग्नि नियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका अरू प्रज्ज्वलनशील सामानहरूमा आगो तत्कालै सल्किएको खबरमा उल्लेख छ ।

अस्पतालको प्रशासनका अनुसार धेरैजसो बिरामीलाई अन्यत्र सार्नुपरेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो । कतिपयको आगलागीबाट निस्किएकाे धुवाँले निस्सासिएर ज्यान गएको छ । अस्पतालबाट एक सय २० जना बिरामी र उनीहरूका आफन्तमध्ये ९० जनालाई भने सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

इराकमा अस्पतालहरूमा औषधि र शय्याको चरम अभाव भइरहेका बेला अस्पतालमा आगलागी हुँदा कोरोना सङ्क्रमतिको उपचारमा जटिलता थपिएको छ ।   काेराेना महामारी सुरु भएयता इराकमा अहिलेसम्म दश लाख २५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे र १५ हजारभन्दा धेरैकाे ज्यान गएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे