हातमा औषधि र साथमा स्वास्थ्यकर्मी लिएर सङ्क्रमितकाे घरघर पुग्ने रुकुम पश्चिमका एक वडाध्यक्ष



हातमा औषधि र साथमा स्वास्थ्यकर्मी लिएर सङ्क्रमितकाे घरघर पुग्ने रुकुम पश्चिमका एक वडाध्यक्ष

रुकुम पश्चिम ६ जेठ । हातमा अक्सिजन लेभल नाप्ने मेसशन र औषधि, साथमा स्वास्थ्यकर्मी लिएर रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का वडाध्यक्ष बिर्खबहादुर विष्ट कोरोना भाइरसका सङ्क्रमितको घरघरै पुग्नु थाल्नुभएकाे दुई हप्ताभन्दा बढी भयाे ।

रुकुम पश्चिममा गएकाे वैशाख १९ गतेदेखि लगाइएकाे निषेधाज्ञायता वडाध्यक्ष विष्ट हरेक दिन आफ्ना मतदाता र कारोना सङ्क्रमितहरूसँगै हुनुहुन्छ । अहिले गाउँघरमा व्याप्त भाइरल ज्वरोले धेरैजसाे स्थानीयवासी थला परेको बेला स्वास्थ्यकर्मी र साथमा बोकेका औषधिले निकै काम गरेको छ । वडाध्यक्ष यसरी आँगनमै पुगेर स्वास्थ्य अवस्था जाँच गर्न लगाउने र कुरा सुनिदिने गर्दा स्थानीयवासी खुसी भएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्टले स्थानीयवासी त्रसित भइरहेका बेला सङ्क्रमितहरूको घरमै पुगेर आफू साथमै रहेको अनूभूति दिने काम गरिरहनुभएकाे छ वडाध्यक्ष विष्ट । आफू विजयी भएको वडामात्रै नभएर त्यही गाउँपालिकाका ७, ८ र ९ नम्बर वडावासीकोमा समेत पुग्नुहुन्छ उहाँ । सङ्क्रमित र परिवारजनको आत्मबल बढाउन र समस्या भएमा तत्काल उद्धार गर्न सजिलो होस् भनेर उनी घरघरमै पुग्न थालेका हुन् । अहिलेसम्म ५० जना सङ्क्रमित र अन्य स्थानीयवासीलाई स्वास्थ्यर्कीसहित घरमै पुगेर सेवा दिएको वडाध्यक्ष बिर्खबहादुर विष्टले बताए ।

‘स्वास्थ्यकर्मी, औषधिसहितको टोली घरमै लिएर जाँदा सङ्क्रमितको मनोबल बढाउने तथा तत्कालको स्वास्थ्य अवस्थाबारे जानकारी लिने नै मूल उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘अप्ठ्यारो महसुस भएको बेला जनप्रतिनिधि नागरिककै साथमा रहनु महत्त्वपूर्ण हुन्छ ।’ वडाध्यक्ष विष्टले कोरोना सङ्क्रमितको घर गएर उनीहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिने र स्वास्थ्यर्कीले जाँच गरेपछि आवश्यक पर्ने औषधिसमेत दिने व्यवस्था मिलाएका छन् ।

सङ्क्रमितको अक्सिजनको मात्रा नाप्ने, मास्क दिने, लक्षणअनुसारका औषधि दिनेसमेत गरिएको स्वास्थ्यकर्मी मनोज ओलीले बताए । सङ्क्रमितको लक्षणका आधारमा जीवनजल, सिटामोल, सिटिजेट, एमक्लोर, एमोक्सी, कोट्रिम, मेट्रो लगायतका औषधि दिइएको ओलीले बताए ।

‘अहिलेसम्म पुगेका घरका सङ्क्रमितको अवस्था सामान्य नै पाइएको छ, जटिल अवस्थाकालाई अस्पताल पुर्‍याउने काम पनि भइरहेको छ’, वडाध्यक्ष विष्टले भन्नुभयो, ‘हिजोमात्र जिल्ला अस्पतालसम्म केही बिरामी पुर्‍याएर उपचार सुरु गरिएको छ ।’  कोरोनाको महामारी सुरु भएपछि उहाँले विपन्न परिवारलाई आवश्यक राहतको व्यवस्था गर्नुका साथै सङ्क्रमणबाट बच्न सचेतनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे