प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन



प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

घोराही ७ पुस । सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखहरूलाई मन्त्रालयको अनुमति विना जिल्ला नछाड्न निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटनपछि त्यसको समर्थन र विरोधमा हुने शक्ति प्रदर्शन र शान्तिसुरक्षालाई ख्याल गर्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ती प्रतिनिधिसभा विघटन गरेसँगै देशभर विरोध भइरहेको छ । सत्तारूढ र प्रतिपक्षी दलका नेता–कार्यकर्ता विरोधमा उत्रिइसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पनि प्रदर्शन हुन थालेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै प्रजिअ र जिल्ला सुरक्षा प्रमुखलाई अर्को आदेश नभएसम्म बिदा बस्न र निमित्त जिम्मेवारी दिएर जिल्ला नछाड्न निर्देशन दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे