होटेलमा भेटिएका डिएसपी चौधरी निलम्बित



होटेलमा भेटिएका डिएसपी चौधरी निलम्बित

कैलाली १७ मंसिर । कैलालीमा गत मंगलवार राति ड्युटीबाटै सम्पर्कविहीन भएर गत बुधवार बिहान होटेलमा भेटिएका डीएसपी भरतबहादुर चौधरी निलम्बित भएका छन्। इलाका प्रहरी कार्यालय माला खेतीका तत्कालीन प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक चौधरी मंगलवार बेलुकी सात बजेपछि कसैलाई खवरै नगरी सम्पर्कविहीन भएका थिए।

रातभर मोबाइल बन्द भएपछि उनको खोजीमा जिल्ला तथा प्रदेशबाट समेत प्रहरी टोली परिचालन गरिएको थियो। अन्ततः उनी कैलालीकै पहाडी क्षेत्रमा पर्ने बुढी तोलाको एक होटेलमा मोटरसाइकलसहित फेला परेका थिए। उक्त घटनामा मुछिएपछि उनलाई जिल्ला तानेर अनुसन्धान थालिएकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले निलम्बनका लागि सिफारिस गरेको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उनलाई गत १२ गतेको गृह मन्त्रालयको निर्णयअनुसार निलम्बन गरिएको हो। उनको विषयमा छानबिन गर्न बनेको सुदूरपश्चिम प्रदेश दङ्गा नियन्त्रण गण कञ्चनपुरका प्रहरी उपरीक्षक दिलीप देउवा नेतृत्वको टोलीले समेत छानबिन प्रतिवेदन बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे