वायु प्रदूषण बढेपछि देशैभरका विद्यालय चार दिनका लागि बन्द गर्ने सरकारले निर्णय



वायु प्रदूषण बढेपछि देशैभरका विद्यालय चार दिनका लागि बन्द गर्ने सरकारले निर्णय

काठमाण्डौं १६ चैत्र । वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उज्यालोलाई जानकारी दिए ।

बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डाक्टर सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डाक्टर हरि लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुन सक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए । विद्यालय बन्द भए पनि पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रम सञ्चालन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
विगत केही दिन देखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा एक्कासी देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको पहाडी भू–भागका एक, दुर्ई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ८ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे