दाङमा नेकपा प्रचण्ड-नेपालकाे आमहड्तालको प्रभाव: यातायात ठप्प, काठमाडौंमा ४० जना पक्राउ



दाङमा नेकपा प्रचण्ड-नेपालकाे आमहड्तालको प्रभाव: यातायात ठप्प, काठमाडौंमा ४० जना पक्राउ

दाङ २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङमा देखिएको छ । अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। बजार पनि खुल्न सकेको छैन ।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले बिहान साढे ६ बजेसम्म राजमार्गमा निजी सवारी साधन मात्रै फाट्टफूट्ट चलेको जानकारी दिएका छन्।

आमहड्तालको पूर्व सन्ध्यामा बुधबार बेलुका प्रचण्ड– नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गरेको थियो । उक्त समूहका जिल्ला अध्यक्ष टिकाराम खड्का तथा सचिव सुवास पुनले विज्ञप्ति नै जारी गरेर बन्द सफल पार्न आह्वान गरेका थिए।

जिल्लामा क्रियाशिल नागरिक समाज र अधिकारकर्मीले भने बन्दको बिरोध गरेका छन्। गृह मन्त्रालयले पनि निर्वाद रुपमा सवारी सधान चलाउन तथा कार्यालय, उद्योग ब्यवसाय संचालन गर्न आग्रह गरेको छ । त्यसको सुरक्षाको प्रत्याभुति गर्ने गृह मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर जनाएको थियो। साथै कुनै पनि तोडफोडमा संलग्न रहेमा कार्वाही गर्ने समेच चेतवानी गृह मन्त्रालयले दिएको छ ।

यसैबीच काठमाडौं उपत्यकामा सडक र गाडीमा अवरोध गर्न खोज्ने ४० जना पक्राउ परेका छन् । प्रहरीले सडकमा अवरोध गर्न खोज्नेलाई पक्राउ गरेको जनाएको छ । काठमाडौंमा सार्वजनिक गाडीको संख्या कम रुपमा चलेपनि दूध, तरकारीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी निर्बाधरुपमा चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे