LISTEN LIVE RADIO

नेकपा विप्लवकाे आज नेपाल बन्द, दाङमा बजारसँगै सवारी ठप्प, मकवानपुरमा बोलेरोमा आगजनी, काभ्रेमा बम विष्फोट



नेकपा विप्लवकाे आज नेपाल बन्द, दाङमा बजारसँगै सवारी ठप्प, मकवानपुरमा बोलेरोमा आगजनी, काभ्रेमा बम विष्फोट

दाङ १० माघ । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङमा पनि देखिएको छ । बन्दले गर्दा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार पनि बन्द रहेको छ। बजार भित्र केही मोटर साइकल र अटो भने संचालन भएको देखिएको छ।

पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लगायत नेतालाई प्रहरीले पक्राउ गरेको विरोधमा आज सो समूहले नेपाल बन्दको घोषणा गरेको थियो । दाङ प्रहरीले भने बन्दको समयमा सुरक्षा सतर्कता बढाउँदै प्रहरी परिचालन गरेको जनाएको छ । साथै यात्रामा रहेका सवारी साधनलाई स्कटिङ गरेर गन्तब्यमा पुर्याउने कार्य गर्ने पनि जनाएको छ। आवश्यक परे प्रहरीलाई खबर गर्न दाङ प्रहरीले आग्रह गरेको छ।

यसैबीच बन्दको समयमा सवारी साधन चलागएको भन्दै विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले जानकारी दिए।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै काभ्रेको बुडोल र मंगलटारमा बम विष्फोट भएको छ। गएराति बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा बम विष्फोट भएको हो।

नेत्र विक्रम चन्द विप्लवु नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले विस्फोट गराएको आशंका गरिएको छ। प्रहरीले जानकारी दिएअनुसार शनिबार विहान ३:४५ बजेको समयमा जिल्लाको बनेपा-६ बुडोलस्थित सडक छेउमा (झोलामा कुकर जस्तो देखिने) शंकास्पद बस्तु फेला परेको थियो। सोही स्थानमा एउटा बम भने विष्फोट भएको हो। अहिले सो उक्त स्थानमा नम्बर १५ गण हेक्वा काभ्रेबाट १५ जनाको टोली, ईलाका प्रहरी कार्यालय बनेपाबाट १० जनाको टोली र नेपाली सेनाको बिष्णुदल गण धुलिखेलबाट १ जना (डिस्पोजल टोली) खटिएको छ।

यस्तै, रोशी-८ नार्के स्थित बिपी राजमार्गको बायाँतर्फको लेनमा पनि बम विष्फोट भएको छ। तर, कुनै मानवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अरनिको र बीपी राजमार्गमा सवारीसाधन आवागमन भने अवरुद्ध भएको छ। त्यस्तै लामो रुट हुँदै डाँडापारी र कोशीपारीको ग्रामीण क्षेत्रमा जाने बस चलेका छैनन्‌।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे