नेकपा महासचिव बिष्णु पौडेललाई बुटवलमा कालो झण्डा



नेकपा महासचिव बिष्णु पौडेललाई बुटवलमा कालो झण्डा

बुटवलका जनताले पौडेललाई साेधे : तपाइ अर्थमन्त्री सँग प्रदेश राजधानी साटेको हो ?

बुटवल १० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् ।

नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा.बि रानिबगिया र पर्राेहा मा.बि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए । प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेता विष्णु पोखरेलले बताए ।

गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि पौडेललाई लाग्दै आएको छ ।

यता मंगलबार बुटवल पुगेका पौडेलले सञ्चारकर्मीहरुसँग भेट गरे । पार्टीको पछिल्लो विवादबारे धारणा राख्दै उनले मर्यादा नाघेर अभिव्यक्तिहरु आउन थालेको बताए । यो चिन्ताजनक भएको भन्दै उनले मर्यादाभित्र फर्किएर छलफल गर्नुपर्ने बताए ।

सञ्चारकर्मीहरुको केही प्रश्न लिएका उनले पार्टीको विवादसँगै प्रदेश राजधानीबारे प्रश्न समेत सामना गर्नुपर्‍यो  । पौडेललाई सोधिएको थियो, तपाईले अर्थमन्त्रीसँग प्रदेश राजधानी साट्नुभयो भन्ने छ, त्यो सही हो ?

पौडेलले बुटवललाई प्रदेशको स्थायी राजधानी हुनुपर्ने मत राख्दै आएका थिए र चुनावी नारा पनि यसलाई बनाएका थिए । तर प्रदेशसभाले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी तोक्यो । पौडेलले अन्तिम समयमा बुटवललाई राजधानी बनाउन पहल नगरेको बुटवलबासीको आरोप थियो । प्रदेश राजधानी भालुवाङ तोकिएको केही समयपछि पौडेल अर्थमन्त्री बनेका थिए ।

त्यसलाई लिएर विपक्षी दलहरुले समेत पौडेलले अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको आरोप लगाएका थिए । अर्थमन्त्री पौडेलले भने त्यसलाई अस्वीकार गरेका छन् । यसका लागि उनले तीन दलिल पेश गरे र, अब राजधानीको बहसमा अल्झिनुभन्दा बुटवलको विकासका विषयमा छलफल गर्नुपर्ने बताए ।

पहिलो, प्रदेशको देशको केन्द्र प्रदेशसभाले तोक्ने हो । अर्थमन्त्री प्रधानमन्त्रीले नियुक्त गर्ने हो । त्यसकारण प्रदेशसभाले निर्णय गर्ने विषय र प्रधानमन्त्रीले निर्णय गर्ने विषय साट्ने भन्ने प्रश्नै भएन ।

दोस्रो, साट्नु पर्ने आवश्यकता किन छैन भने म पहिलो पटक अर्थमन्त्री भएको होइन । यसअगाडि पनि अर्थमन्त्री भएको हुँ । त्यसकारण अर्थमन्त्री हुनका निम्ति साट्नु पर्ने भन्ने प्रश्न हुन सक्दैन ।

तेस्रो, प्रदेशको केन्द्रका विषयमा राजनीतिक दलहरु, जनप्रतिनिधिहरुका बीचमा आआफ्ना मत थिए निर्वाचनका बेला, त्यो भन्दा अगाडि पनि र पछाडि पनि । तर एउटा प्रक्रियाबाट अधिकारप्राप्त निकायले एउटा निर्णय गरेको छ । निर्णयमा पुग्नु अगाडि पनि हाम्रा मतहरु थिए ।

एउटा प्रक्रियाबाट निर्णय भइसकेकाले फेरि त्यतातिर फर्किएर लामो समय व्यतित गर्नुभन्दा जसरी प्रदेशसभाले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक, सांस्कृतिक र पर्यटनको केन्द्रका रुपमा विकास गर्ने तय गरेको छ । म भन्न चाहन्छु, यो ठाउँलाई कुनै पनि हिसाव पूर्वाधार, आर्थिक समाजिक दृष्टिकोणले पछाडि पर्न दिइने छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे