मन्त्रिपरिषद् बिस्तार तथा शक्ति बाँडफाँटमा दलहरु आन्तरिक छलफलमा



मन्त्रिपरिषद् बिस्तार तथा शक्ति बाँडफाँटमा दलहरु आन्तरिक छलफलमा

काठमाण्डाै १२ पुस । नयाँ सरकार गठनसँगै सत्तारूढ ७ दलले आन्तरिक छलफललाई अगाडि बढाएका छन् । मन्त्रिपरिषद् विस्तार तथा शक्ति बाँडफाँटको विषयमा सत्तागठबन्धनले अध्यक्षस्तरीय संयन्त्रमार्फत् टुङ्गो लगाउने भएको छ ।

सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् । ‘पर्ख र हेर’ को रणनीति लिएको जसपा नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र तय गर्ने भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपाले सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन । आउँदो पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाले अहिलेसम्म पार्टीको संसदीय दलको नेता समेत चयन गरेको छैन । प्रतिनिधि सभामा जसपाको १२ सिट रहेको छ ।

प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जसपासहित ७ दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ । नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ । त्यस्तै तीन जना स्वतन्त्र सांसदले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकारमै सहभागी भएका छन् । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन्। एमाले उपाध्यक्षसमेत रहेका पौडेलले अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

मन्त्री बन्नेहरूमा एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहेका छन् । त्यस्तै जनमत पार्टीका उपाध्यक्षसमेत रहेका अब्दुल खानले पनि मन्त्रीको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूको कार्यभारपछि तोकिनेछ । जनमत पार्टी अध्यक्ष सीके राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि उहाँले कुनै पनि मन्त्रालयको जिम्मेवारी नलिने बताउनुभएको छ ।

त्यस्तै, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले वर्तमान सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा नजाने जनाएका छन् । कुन पार्टीले कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा विस्तृतमा छलफल नभइसकेको नेताहरुले बताएका छन् । त्यहीकारण तीन उपप्रधानमन्त्रीबाहेक शपथ लिएका बाँकी मन्त्रीहरूको कार्यविभाजन पनि तोकिएको छैन ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टीको सहभागिताको विषय अन्तिम टुङ्गो लागेपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी शक्ति बाँडफाँट गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे