गोरखा क्षेत्र नम्बर १ बाट अध्यक्ष प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठसहितको नाम सिफारिस



गोरखा क्षेत्र नम्बर १ बाट अध्यक्ष प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठसहितको नाम सिफारिस

गोरखा । नेकपा (माओवादी केन्द्र) गोरखाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्यक्षतर्फ क्षेत्र १ मा पूर्वप्रधानमन्त्री प्रचण्डसहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम सिफारिस गरेको केन्द्रीय सदस्य थापामगरले जानकारी दिनुभयो । त्यही क्षेत्रअन्तर्गत प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य कृष्ण धिताल, जगन्नाथ खनाल र ध्रुवकुमार भट्टको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री श्रेष्ठसहित पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको र त्यो क्षेत्र अन्तर्गत प्रदेश सभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र धना तमुको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।

यो क्षेत्रअन्तर्गत प्रदेश सभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले जिल्लाअन्तर्गत सङ्घ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिकतर्फका उम्मेदवारको प्रस्तावित नामावलीको समेत टुङ्गो लगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे