LISTEN LIVE RADIO

आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै : राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना



आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै : राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना

काठमाडौं १० पुस । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनका अनुसार मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि तथा मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए ।

पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । गत वर्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो । यस वर्ष भने पर्यटक आउने क्रम शुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले दिए ‘क्रिसमस डे’को शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले आज दिएको शुभकामना सन्देशमा यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उनले क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वाकस, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा मिल्ने बताएकी छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देशमार्फत चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे