LISTEN LIVE RADIO

आज विवाह पञ्चमी मनाइँदै, राम मन्दिरबाट बाजागाजा र झाँकीसहित शोभायात्रा निस्किँदै



आज विवाह पञ्चमी मनाइँदै, राम मन्दिरबाट बाजागाजा र झाँकीसहित  शोभायात्रा निस्किँदै

काठमाण्डाै २२ मंसिर । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी आज मनाइँदै छ ।  आज रामसीतको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर विवाह पञ्चमी मनाइन्छ  ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन रामसीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।

यस अवसरमा निस्केको डोला शोभायात्रामा नेपालसहित भारतका भक्तजन सहभागी हुने गर्छन् । रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । यो महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा अहिले चार दिनमात्र मनाइन्छ ।

आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ । विवाह पञ्चमीमा हुने भीडभाडलाई मध्यनजर गर्दै प्रदेश २ मा आज सार्बजनिक बिदा दिईएको छ । यस्तै जनकपुरधाप उपमहानगरपालिकाका सबै विद्यालय बन्द छन् । हिजो, आज र भोलि तीन दिन विद्यालय बन्द रहने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे