सार्वजनिक गाडीमा बढेकोभन्दा धेरै भाडा तिर्न यात्रु बाध्य, खुद्रा पैसा बोक्न विभागको आग्रह



सार्वजनिक गाडीमा बढेकोभन्दा धेरै भाडा तिर्न यात्रु बाध्य, खुद्रा पैसा बोक्न विभागको आग्रह

काठमाण्डाै ८ कार्तिक । सार्वजनिक गाडीमा सरकारले बढाएकोभन्दा पनि बढी भाडा तिर्न यात्रु बाध्य भएका छन् । सरकारले सार्वजनिक गाडीमा २३ प्रतिशत भाडा बढाएपछि गाडीवालाले खुद्रा नभएको बहानामा त्योभन्दा बढी भाडा लिने गरेका हुन् ।

वाग्मती प्रदेश सरकारले गएको कात्तिक १ गतेदेखि लागू हुने गरी काठमाण्डौ उपत्यकाको लागि ५ किलोमिटरसम्म १८ रुपैयाँ,  ५ देखि १० किलोमिटरसम्म २३ रुपैयाँ, १० देखि १५ किलोमिटरको २७ रुपैयाँ, १५ देखि २० किलोमिटरको ३० र २० किलोमिटर भन्दा माथिको लागि ३५ रुपैयाँ भाडादर तोकेको छ । तर सरकारले तोकेकोभन्दा दुईदेखि तीन रुपैयाँसम्म महँगो भाडा तिर्न यात्रु बाध्य भएका छन् ।

धेरै गाडीवालाले १८ रुपैयाँ भाडा लाग्ने ठाउँमा २० रुपैयाँ, २३ रुपैयाँ भाडा लाग्ने ठाउँमा २५ रुपैयाँ र २७ रुपैयाँ भाडा लाग्ने ठाउँमा ३० रुपैयाँ लिने गरेका छन् । खुद्रा पैसा बोक्ने बानी नभएकाले १८ रुपैयाँ लाग्ने ठाउँमा २० रुपैयाँ दिनुपरेको, तर गाडीवालाले पनि दुई रुपैयाँ फिर्ता नदिँदा आफूहरु ठगिएको यात्रुको गुनासो छ । एक, दुई रुपैयाँको खुद्रा पैसा बोक्न आफूहरुलाई पनि अव्यावहारिक भएको गाडीवालाको भनाइ छ । कतिपय गाडीवालाले खुद्रा पैसा फिर्ता दिनुको सट्टा चकलेट दिने गरेका छन् ।

यातायात व्यवस्था विभागले भने खुद्रा पैसा बोक्न यात्रु र गाडीवालालाई आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरे चालक, सहचालक र यात्रु सबैले खुद्रा पैसा बोकेर हिँड्नुपर्ने र दुवै पक्ष मिलेर खुद्रा पैसाको व्यवस्थापन गर्नुपर्ने बताए । यात्रुले सकेसम्म खुद्रा मिलाएर दिने र यदि यात्रुसँग खुद्रा पैसा नभए चालक  र सहचालकले भाडा भन्दा बढी दिएको रकम फिर्ता गर्नैपर्ने उनले बताए ।

विभागमा पनि पछिल्लो समय बढी भाडा तिर्नुपरेको भन्दै यात्रुको गुनासो धेरै आउने गरेकाले गुनासोको आधारमा  अनुगमन गरेर बढी भाडा लिने चालकलाई कारबाही गरेको उनले बताए । यदि कसैले भाडा फिर्ता नदिएमा विभागमा  खबर गरे, त्यस्ता गाडीलाई कारबाही हुने उनको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि बढी भाडा लिने गाडीवालालाई कारबाही गरेको जनाएको छ । महाशाखाका अनुसार बढी भाडा लिनेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिबाना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे