विपक्षी गठबन्धनले भोलि मात्रै रिट हाल्ने, एक सय ४९ भन्दा धेरै सांसदको साथ रहेको प्रचण्डको दाबी



विपक्षी गठबन्धनले भोलि मात्रै रिट हाल्ने, एक सय ४९ भन्दा धेरै सांसदको साथ रहेको प्रचण्डको दाबी

काठमाण्डाै ९ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिपक्षी दलहरूको गठबन्धन सोमवार मात्रै सर्वोच्च अदालत जाने भएको छ । आइतवार (आज) रिटको मस्यौदा तयार भए पनि केही सांसदको हस्ताक्षर र कागजात जुटाउन ढिला भएकाले भोलि मात्रै सर्वोच्चमा रिट दर्ता गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

उहाँले संसद् विघटनको विरुद्धमा एक सय ४९ भन्दा धेरै सांसद साथ दिन तयार भएको र भोलिसम्म यो सङ्ख्या अझै थपिने दाबी गर्नुभयो । सांसदहरूको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजात सङ्कलन गरिएको र भोलि बहुमत सदस्य आफैँ सर्वोच्चमा उपस्थित भएर रिट दायर गर्ने प्रचण्डको भनाइ छ ।

विघटनविरुद्ध सर्वोच्च जाने सांसदमध्ये १९ जना नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद रहेका छन् । भोलिसम्म आफू पक्षका ३० जना सांसदले हस्ताक्षर गर्ने सम्भावना रहेको नेपाल पक्षका नेताहरूले दाबी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र–बावुराम पक्ष र जनमोर्चाले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै एक सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाएको थियो । आफूहरूको पक्षमा स्पष्ट बहुमत हुँदा हुँदै पनि राष्ट्रपतिले प्रधानमन्त्रीको आदेश मान्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा नगरेको गठबन्धनको भनाइ छ ।

तर प्रधानमन्त्रीले पनि आफूलाई एक सय ५३ जना सांसदको समर्थन रहेको भन्दै निवेदन पेस गरेपछि राष्ट्रपतिले मध्यरातमा संसद् विघटन गर्नुभएको थियो । तर प्रधानमन्त्रीले सांसदहरूको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै त्यसको छानबिन गर्न विपक्षी दलले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे