LISTEN LIVE RADIO

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी



राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी

काठमाडौं ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने भएको छ ।शुक्रबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने काँग्रेस नेताहरुले बताएका छन् ।

यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग विहीबार साँझै टेलिफोन संवाद गरिसकेका छन् । नेताहरुसँगको कुराकानीपछि सभापति देउवा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा कदम उठाउनुपर्ने निष्कर्षमा पुगेको बुझिएको छ ।

काँग्रेस नेता रमेश लेखकले राष्ट्रपतिबाट विहीबार जारी नयाँ सरकार गठनसम्बन्धी आह्वानबारे चर्चा गर्दै उनले भने, ‘यो त अति भयो । यो देशमा संविधान विधि, पद्दति केही पनि छैन भन्ने कुराको नमुना हो यो । यो विषयमा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आएको छ ।’

संविधानको गम्भीर उल्लंघनको घटना एकपछि अर्को हुन थालेकाले काँग्रेसले कडा कदम चाल्नुपर्ने बेला आएको लेखकको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गणतन्त्र र लोकतन्त्रमाथि खतरा पैदा भएको लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे