सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि



सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

सोलुखुम्बु २५ बैशाख । सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आधार शिविरबाट फर्किएका दुई विदेशीसहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाकी स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए ।

तामाङका अनुसार वैशाख १५ र १६ गते १/१ जना, २२ गते बुधवार दुई जना, २३ गते बिहीवार चार जना, २४ गते शुक्रवार चार जनाको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । सङ्क्रमण पुष्टि भएकामध्ये दुई जना सङ्क्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखेर उपचार सुरु गरिएको छ । अन्य आठ जनालाई होम आइसोलेशनमा राखिएको छ ।

याेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका १२ जनासहित सोलुखुम्बुमा कुल सङ्क्रमितको सङ्ख्या २१ पुगेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका अनुसार अहिलेसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक/एक जना विदेशी नागरिकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको गाउँपालिकाकी स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए ।

यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरिएकामध्ये एक जनालाई काठमाण्डाै र एक जनालाई विराटनगर रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए । लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म सोलुखुम्बुमा ३० जनामा कोरोना सङ्क्रमण देखिएकाे छ । तर हाइड्रोपावरले गरेको परीक्षणलाई सरकारले आधिकारिक मानेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे