LISTEN LIVE RADIO

राष्ट्रियसभा सदस्य उपचुनावका लागि बादल, देवकोटा र तामाङको उम्मेदवारी



राष्ट्रियसभा सदस्य उपचुनावका लागि बादल, देवकोटा र तामाङको उम्मेदवारी

मकवानपुर २४ बैशाख । वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य उपचुनावका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी परेको छ । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।  उम्मेदवारीका लागि थापा हेलिकप्टरबाट प्रदेश राजधानी हेटौँडा पुगेका छन् ।

त्यस्तै देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ ।

राष्ट्रिय सभा सदस्य उपचुनावमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ । रिक्त पदमा निर्वाचन आयोगले जेठ ६ गते उपचुनाव गर्न लागेको हो । वाग्मतीमा हुने राष्ट्रिय सभा उपचुनावमा एक सय १० जना प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ जना गरी तीन सय ४८ मतदाता रहेका छन् ।

प्रदेश सभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को भुटनदेवी मावि भवनमा दुई वटा मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा पालिका र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे