LISTEN LIVE RADIO

एमालेकाे बैठक बस्दै : खनाल-नेपाल समूहको स्पष्टीकरणबारे छलफल हुने



एमालेकाे बैठक बस्दै : खनाल-नेपाल समूहको स्पष्टीकरणबारे छलफल हुने

काठमाण्डौ १० बैशाख । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।  आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने जानकारी दिए । यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता भएको उनको भनाइ छ ।

६ गतेको बैठकले खनाल-नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ । आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल-नेपाल समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ ।

यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

यसैबीच आजको बैठकमा पनि खनाल-नेपाल समूहका नेताहरु सहभागी हुने सम्भावना कम छ । सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । हिजो र अस्ति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले एक्लाएक्लै भेटवार्ता गरेको भए पनि कुनै प्रगति हुन सकेको छैन ।

खनाल-नेपाल समूहले यसअघिका एकलौटी निर्णय सच्याउनुपर्ने माघ अघि सार्दै आएको छ । हिजो र अस्तिको ‘वान टू वान’ बैठकमा नेपालले पहिलेकै अवस्थामा फर्कन आग्रह गरेपछि अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पछाडि फर्कन नसक्ने बताएपछि कुरा मिल्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे