पत्रकारिताकाे विचलनमा सुधार गर्न  संचार गृह, पत्रकार र महासंघ बीच सहकार्य हुनुपर्छ



पत्रकारिताकाे विचलनमा सुधार गर्न  संचार गृह, पत्रकार र महासंघ बीच सहकार्य हुनुपर्छ

घोराही २३ फागुन । आजको पत्रकारिता विषयमा बहस गरिएको छ । घोराहीमा आज भएको वहसमा जिल्ला स्थित विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, पत्रकारिता पढ्दै गरेंका विद्यार्थी तथा संचार प्रतिष्ठानका उद्यमीहरुको पनि सहभागीता रहेको थियो । सञ्चार समूह दाङले आयोजना गरेको बहसमा जिल्लाको पत्रकारिताको अवस्था, समस्या चूनौति र भावी सम्भावनाका सार्थ समाधानका उपाय के के हुन सक्छन भन्ने विषयमा छलफल विमर्श भएको थियो ।

बहसमा वक्ताका रुपमा नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासन, नयाँ युगबोध दैनिककी सम्पादक लक्ष्मी आचार्य, रेडियो स्वर्गद्वारीकी सम्पादक बसुन्धरा गौतम र कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसी रहेका थिए । जिल्लाको पत्रकारितामा केही विचलन देखिएकाले सुधार गर्न र थप जिम्मेवार बनाउन संचार गृह, कार्यरत पत्रकार र महासंघले एक आपसमा सहकार्य गर्न जरुरी रहेको औल्याइएको छ ।

संचार गृहले पत्रकारलाई काम गर्ने वातावरण बनाउन लगानीमैत्री संचार गृह हुनु पर्ने सम्पादक गौतमको भनाई थियो । उनले पत्रकार आफु श्रमको मूल्य पाएर उत्साहित हुन नसक्दा सम्म सोँचे जस्तो विषयबस्तु र स्तर माथि उठ्न चुनौती रहेको बताइन् । यसका लागि मिडियाका मालिकले आफु मोटाउने र श्रमजिवीलाई शोषण गर्ने परिपाटीको अन्त्य हुन जरुरी रहेको तर्क गरिन् । यस्तै, दृढ संकल्प लिएर पत्रकारिताबाटै आफ्नो पहिचान स्थापित गर्न चाहनेले क्षमता विकासमा ध्यान दिनु पर्ने बताइन् । यस्तै, महासंघका अध्यक्ष प्रियासनले महासंघ समग्र पत्रकारहरुको साझा संस्था भएकाले पत्रकारहरुको समस्या समाधान सँधै साथमा रहेको बताए ।

पत्रकारिताबाट बाँच्न आधारहरु बन्दै गएकाले नाम, दाम र सम्मान पाउन सक्ने गरी पत्रकारिता गर्न अहिले सजिलो भएको तर्क गरे । यसका लागि निरन्तरको साधना, निष्ठाको पत्रकारिता आवश्यक रहेको उल्लेख गरे । यस्तै, सम्पादक आचार्यले मिडियामा लगानी मैत्री वातावरण अझई भई नसकेको स्वीकार गर्दै पत्रकारले पनि आफ्नो क्षमता समय अनुसार बिस्तार गर्दै लैजानु पर्ने बताए ।

मिडिया हाउसले पत्रकारहरुको क्षमता अभिवृद्धिमा ध्यान दिएर आवाजबिहीनहरुको आवाज दिएर मुुल्य पत्रकारितामा अब लाग्नु पर्ने बेला आएको बताए । जिल्लामा रहेका संचार माध्यममा रहेका सम्पादकहरुबीच समन्वय गरी अबमा समाचारका मुद्धा र अब उठाउनु पर्ने विषय बस्तुलाई नवीन ढंगले बाहिर ल्याउनु पर्ने बताए । यस्तै, उपसम्पादक केसीले पुरानै पत्रकारिताको शैलीले पाठक श्रोताको आकर्षण गर्न अब कठिन हुने भएकाले मिडिया हाउसले समय सापेक्ष समाचारमा विविधता ल्याउन र पस्किने सामग्रीका साधनहरुमा पनि नयाँ ढंगले सोँच्नु पर्ने बेला आएको बताए ।

जिल्लाको पत्रकारिता अन्यत्र भन्दा राम्रो भएपनि अझ उत्कृष्ट बनाउन नयाँ पुस्ताको ज्ञान, सीप र अनुभवलाई पुरानो पुस्तासँग जोडेर प्रविधियुक्त बनाउँदै स्तरीय पत्रकारिताको बाटो अघि बढ्नु पर्ने उल्लेख गरे । सहभागीहरुले आफुले गर्दै आएको पत्रकारिता र भोगेका समस्याहरुका बारेमा जानकारी गराउँदै समस्याको निकास कसरी गर्न सकिन्छ भन्ने लगायत जिज्ञासा राखेका थिए । वहसमा सहभागी भएका प्रेस काउसिन्सलका सदस्य शरद अधिकारीले पत्रकारीता पेशालाई मर्यादित बनाउनु सबैले जिम्मेवारपूर्वक काम गर्नुपर्ने बताए । आफनो पेशाका बारेमा आफैले छलफल शुरु गर्न सके देखिएका यावत समस्या समाधान गर्न सहज हुने बताए ।

जिल्लामा रहेका मिडियाहरु सामाजिक विषयहरुमा एक्तावद्ध हुन नसकेको उनको भनाइ थियो । कान्सिलको सदस्य भई जिम्मेवारी प्राप्त गरेको बताउँदै एक नियामक निकायले गर्न सक्ने कामलाई जिल्लाको पत्रकारिताको विकासमा आफुले सक्दो पहल गर्ने वचन दिए । नेपाल पत्रकार महासंघ दाङ शाखाका पुर्व अध्यक्ष केबी मसालले खोजी पत्रकारीताको अहिले अभाव हुँदै गएकाले यस तर्फ पत्रकारहरुले ध्यान दिन जरुरी रहेको बताए । अहिलेको पत्रकारितामा सिर्जनशीलताको कमी हुँदै गएको उनको गुनासो थियो ।

कार्यक्रममा पत्रकार धनिराम शर्मा, शुसिला आचार्य, देवराज भण्डारी, रोम थापा लगायतकाले आआफ्नो अनुभव तथा जिज्ञासा राखेका थिए। दुई सेसनमा चलेको बहसको सहजीकरण छवि पुरी र आभास बुढाथोकीले गरेका थिए । कार्यक्रममा जिल्लास्थित करीव ५० पत्रकारहरुको सहभागीता रहेको थियो । बहस कार्यक्रम सञ्चार समुहका अध्यक्ष दीपक जिएको अध्यक्षतामा भएको थियो । कोषाध्यक्ष विमला घर्तीले विषय प्रवेश गराउनु भएको कार्यक्रमको सहजीकरण सचिव जीतसागर जिएमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे