बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा



बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

लमही १६ पुस । देउखुरीको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनल पुगेको छ । समूह ‘बी’ मा रहेको सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा विहिबार दिनको पहिलो खेलमा बागमती प्रदेशलाई २८ रनले पराजित गर्‍यो  ।

खेलमा सुदूर पश्चिमले दिएको ७७ रनको विजयी लक्ष्यलाई पछ्याएको बागमतीले निर्धारित ११ ओभरको खेल खेल्दै ९ विकेट गुमाएर ४८ रनमा सिमित हुन पुग्दा सुदूरपश्चिम सेमिफाइनल पुग्न सफल बनेको हो ।

ब्याटिङमा बागमतीका लागि ओपनर ब्याटर सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । बागमतीको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमकी कविता जोशीले शानदार बलिङ प्रस्तुत गरिन उनले जारी प्रतियोगिताको पहिलो ह्याट्रिकसहित ५ विकेट लिन सफल भईन् ।

आफ्नो स्पेलको २ ओभर बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर उक्त विकेट हात पारेकी थिइन् । यस्तै टोलीका लागि कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले पनि १÷१ विकेट लिएका छन् ।

त्यसअघि खराब मौसमका कारण ११ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित पूरै ओभर खेल्दै ४ विकेट गुमाएर ७६ रन बनाएको थियो । टिमले उक्त योगफल बनाउने क्रममा डली भट्टले आक्रमक ब्याटिङ गरेकी थिईन् ।

अविजित रहेकी उनले मात्र १४ बलको सामना गर्दै २ चौका र २ छ्क्कासहित २८ रनको योगदान गरेकी थिईन् । यस्तै टोलीका लागि ओपनर ब्याटर कविता कुँवरले पनि अविजित रहदै १९ रन बनाएकी थिईन् । ३० बलको सामना गरेकी उनले १ चौकासहित उक्त रन बनाएकी थिइन् ।

यी दुई बाहेक टोलीका लागि कविता जोशीले १२ रन, मन्जु बोगटीले ५ रन र रेवती धामीले २ रन बनाएकी थिईन् । बलिङतर्फ बागमतीका लागि आरती बिडारीले २ ओभर बलिङ गर्दै १३ रन खर्चिएर ३ विकेट हात पार्न सफल भईन ।

निशा तामाङले पनि १ विकेट लिएकी थिईन् । सेमिफाइनल पुग्ने क्रममा सुदूरपश्चिमले समूह चरणमा ३ खेल मध्ये २ खेल आफ्नो पक्षमा पार्न सफल भयो । यता सुदूरपश्चिमसँग पराजित भएको बागमती समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि गण्डकी प्रदेश बाहिरिएको थियो ।

यस समूहबाट सुदुर पश्चिमसँगै प्रदेश १ ले सेमिफाइनल पक्का गरेको छ । यस्तै समूह ‘ए’ बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन् । प्रतियोगिताको दुबै सेमिफाइनल खेल पुस १८ गते हुनेछ । भने फाइनल खेल पुस १९ गते हुनेछ ।

प्रधानमन्त्री कप महिलाको सेमिफाइनल समिकरण पूरा
यस्तै लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । विहिबार समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १ सय ४० रनले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो । खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ४८ रनको विजयी लक्ष्यलाई पछ्याएको गण्डकीले निकै खराब ब्याटिङ गर्ने क्रममा ८ ओभरमा

आफ्नो सबै विकेट गुमाएर मात्र ७ रन जोड्न सफल भएको थियो । उसका लागि कुसुम गोदार र सोनिया थापाले २÷२ रन बनाउनु बाहेक अन्य खेलाडीले खाता खोल्न समेत सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि संगीता राई एक्लैले ५ विकेट लिन सफल भईन् ।

आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र ३ रन खर्चिएर उक्त विकेट लिन सफल भएकी हुन् । यस्तै शबनम राईले ४ विकेट र अप्सरी बेगमले पनि १ विकेट लिएकी थिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय पारी खेलेका थिए ।

जसअन्तर्गत अविजित रहेकी काजलले ५७ बलमा ४ चौकासहित ५२ रनको योगदान गरिन् । यस्तै उनलाई साथ दिएकी रोमाले पनि अविजित रहदै ४९ बलमा ८ चौकासहित ५१ रन बनाईन् । त्यसअघि ६/४ ओभरमा टिमको स्कोर ३६ रन हुँदा कुसुम गोदारको बलमा आउट हुन् पुगेकी कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान गरेकी थिईन् ।

अब शनिबार हुने प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’को विजेता विभागीय टोली एपीएफले समूह ‘बी’ को उप–विजेता सुदूरपश्चिमसँग खेल्नेछ, भने अर्को सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता प्रदेश १ ले समूह ‘ए’ को उप–विजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ । यता प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ भने उप–विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे