वन महासंघ तानसेनको १० औं नगर परिषद् सम्पन्न : कर प्रणालीलाई एकद्वार बनाउन माग



वन महासंघ तानसेनको १० औं नगर परिषद् सम्पन्न : कर प्रणालीलाई एकद्वार बनाउन माग

पाल्पा ५ भदाै । सामुदायिक वन उपभोक्ता महासंघ तानसेनको १० औं नगर परिषद् सम्पन्न मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिव डिल्ली गिरीले तीन वटै सरकारले उपभोक्ताबाट लिने कर प्रणाली हटाउनुपर्ने बताए । कर लिने प्रक्रियालाई एकद्वार बनाउनुपर्छ । संघ, प्रदेश र स्थानीय तहले विभिन्न बहानामा वन उपभोक्ता समितिबाट कर लिइरहेको उनले बताए । स्थानीय तहलाई सामुदायिक वन सञ्चालनको अख्तियार दिनुपर्छ । सामुदायिक वन महासंघ समन्वय गरेर अगाडि बढ्न तयार रहेको गिरीले बताए । कर प्रणालीलाई एकद्वार बनाउन सरकारलाई दबाब दिन आवश्यक रहेको उनले बताए ।

जंगली जनावरलाई नियन्त्रण गर्ने कानुन बनाउनुपर्छ । बाँदर र बदेंललाई हानिकारक जन्तुका रुपमा राखिएको पनि यसको नियन्यन्त्रणका लागि सरकारले योजना ल्याउनुपर्ने सचिव गिरीले बताए। विशिष्ट अतिथि सामुदायिक वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक वनका उपभोक्ता समूहले वनको संरक्षणसँगै रचनात्मक कार्यक्रम गर्दै आएको बताइन् । समूहमा आवद्ध सदस्यलाई सक्षम बनाउने काम गरेको छ । महिलालाई  नेतृत्व गर्न सक्ने क्षमता महासंघले प्रदान गर्दै आएका बताइन् । हरेक निकायमा महिला सहभागिता र महिलालाई सशक्तीकरण गर्नुपर्छ भन्ने पक्षमा काम गर्दै आएको उनले बताइन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत लगायतका क्षेत्रमा जनतालाई सहयोग गर्दै आएको बताइन् ।

वन महासंघ पाल्पाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आर्थिक क्रान्तिमा सामुदायिक वनलाई उपयोग गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय पाल्पाका वरिष्ठ वन अधिकृत रामचन्द्र लामाले स्थानीय उपभोक्ताले नै सामुदायिक वनलाई हरभरा बनाएको बताए । आर्थिक आम्दानी प्राप्त गर्नेगरी वनलाई प्रयोग गर्न मिल्ने नीति तथा कार्यक्रम वन कार्यालयले ल्याएको उनले सुनाए ।

कार्यक्रममा तानसेन नगरपालिका–७ का वडाध्यक्ष प्रदीप खनाल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, वन महासंका रैनादेवी छहरा गाउँपालिका अध्यक्ष श्रीकृष्ण आत्रेय, वन महासंघ पाल्पाका संस्थापक सचिव हरिसुमर रेग्मी, पोसपाखा सामुदायिक वनका अध्यक्ष तुलबहादुर गाहा, बेलखर्क सामुदायिक वनका अध्यक्ष राजु खड्का लगायतले शुभकामना दिएका थिए । सामुदायिक वन महासंघ तानसेनका अध्यक्ष भवानी गौतमले आफूले वनका उपभोक्ताको हितमा काम गर्दै आएको बताइन् । उनले स्थानीय सरकारले महासंघलाई वेवास्ता गरेको बताइन् । आफूहरू स्थानीय सरकार सँग सहकार्य गरेर वन संरक्षणमा जुट्न इच्छुक रहेको उनले बताइन् । वनको नीति नियममा रहेको उपभोक्तामैत्री भएर काम गर्न गौतमले आग्रह गरिन् ।

कार्यक्रममा सहभागीहरूले आफ्ना वनमा रहेका साल लगायतका रुख प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए । भवानी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन महासंघलाई सहयोग गरेका विभिन्न वन उपभोक्ता समिति र विभिन्न सहयोगी व्यक्तिलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ तानसेनका उपाध्यक्ष अष्टबहादुर विकले स्वागत गर्नुभएको कार्यक्रममा सह–सचिव दुर्गा नेपालीले सञ्चालन गरेका थिए । विगतको समीक्षा र भावी कार्ययोजना तय गर्दै परिषद् सम्पन्न भएको अध्यक्ष भवानी गौतमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे