लुम्बिनीमा स्थानीय सेवाको शर्त सम्बन्धी विधेयक कानुन समितिमा पारित



लुम्बिनीमा स्थानीय सेवाको शर्त सम्बन्धी विधेयक कानुन समितिमा पारित

भालुवाङ १७ साउन । लुम्बिनी प्रदेश सभा अन्तरगत रहेको प्रदेश मामिला तथा कानुन समितिले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेर सभामुख समक्ष पेश गरेको छ ।

बैशाख ३० गते प्रदेश सभामा दर्ता भएको विधेयक अहिले विचाराधिन अवस्थामा छ । प्रदेश मामिला तथा कानुन समितिको २७ औं बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा गठन गर्न बनेको विधेयकलाई पारित गरेर सभामुख समक्ष पेश गरेको समितिका सदस्य अम्बिका काफ्लेले जानकारी दिएकी छिन् । अव प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने र त्यहाँबाट पारित गर्ने तयारी छ ।

प्रदेश सभाबाट पारित भएको खण्डमा प्रदेश प्रमुखले प्रमाणिकर भएपछी विधेयक ऐनको रुपमा कार्यान्वयनमा आउने छ । स्थानीय तहमा कार्यरत महिला कर्मचारीले महिनाको एक दिन विदा लिन पाउने व्यवस्था राखिएको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि यो बिषय राखिएको थियो । स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरूवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरूवा भई जादा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ ।

हाल अन्तरपालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमती चाहिने प्राब्धान छ । प्रमुख प्रशासकीय अधिकृतले दैनिक रूपमा आफूले गरेको कार्य सम्पादनको विवरण अध्यक्ष वा मेयरलाई पेश गर्नुपर्ने, स्थानीय तह अन्तर्गतका कर्मचारीको दैनिक कार्य सम्पादनको विवरण कार्यालयमा पेश गर्नुपर्ने, गर्भवती महिलालाई उल्लेखित बिदा अपुग भएमा विज्ञ चिकित्सकको सिफारिसमा ६ महिना सम्म बिदा पाउने अधिकार हुने, प्रसुती बिदा पाएका कर्मचारीलाई शिशु स्याहारको लागी शिशु स्याहार खर्च दिइने, कल्याणकारी कोष तथा पुरस्कार को व्यवस्था गर्ने प्राब्धान समावेश छ ।

करारका कर्मचारीले स्थानीय सेवाको कर्मचारीले पाए सरह बिदा पाउने लगायतका बिषयलाई प्राथमिकतामा राखेर विधेक अघि बढेको हो । विधेयकका बिषयमा प्रदेश मामिला तथा कानुन समितिले सरोकार वाला पक्ष संग समेत छलफल गरेको थियो । बैठक समितिकि सभापति दिलु बुढाको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे