लुम्बिनीमा एमालेका पाँच मन्त्रीले बुझाए मुख्यमन्त्री महरालाई राजिनामा, समर्थन समेत फिर्ता



लुम्बिनीमा एमालेका पाँच मन्त्रीले बुझाए मुख्यमन्त्री महरालाई राजिनामा, समर्थन समेत फिर्ता

भालुवाङ २० असार । लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिएकाे छ । एमालेबाट लुम्बिनी प्रदेश सरकारमा भएका पाँचै जना मन्त्रीहरूले राजिनामा दिएपछि एमाले लुम्बिनी प्रदेश सरकारबाट बाहिरएकाे हाे । केन्द्रमा एमाले र काँग्रेसकाे नयाँ समिकरण बनेपछि लुम्बिनीमा पनि त्यसकाे प्रभाव देखा परेकाे छ ।

केन्द्रमा नेकपा एमाले र नेपाली काँग्रेसको नयाँ समिकरण बनेपछि लुम्बिनी प्रदेश सरकारबाट एमाले आज बिहिबार बाहिरिएकाे हाे । प्रमुख सत्ता साझेदार दल एमालेले केन्द्रमा कांग्रेससँग मिलेर सरकार बनाउने समझदारी गरेपछि संघीय सरकारबाट बाहिएकाे एमाले २४ घण्टा नबित्दै लुम्बिनी प्रदेश सरकारबाट समेत बाहिएकाे हाे ।

एमालेबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री भएका एमालेका दल उपनेता तथा आर्थिक मामिला तथा याेजना मन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी, सहरी विकास तथा खानेपानी मन्त्री भूमीश्वर ढकाल, वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसी र सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले सामुहिक रूपमा मुख्यमन्त्री महरालाई राजिनामा बुझाएका हुन् । पाँचै जना मन्त्रीहरू मुख्यमन्त्री निवास पुगेर उक्त राजिनामा बुझाएकाे छन् ।

लुम्बिनीमा नेकपा एमाले सहित साना दलको समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए । २०८० चैत २३ गते माओवादी संसदीय दलका नेता महराले एमाले सहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रमा बनेकाे नयाँ समिकरण अनुसार लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिए एमाले संसदीय दलका उप-नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । हामी प्रदेश सरकारबाट म सहित पाँचै जना मन्त्रीहरूले मुख्यमन्त्री ज्यू लाई राजिनामा बुझाएका छाैँ, मन्त्री आचार्यले भने । केन्द्रमा बनेकाे नयाँ समिकरण तथा पार्टीको केन्द्रीय निर्देशन अनुसार प्रदेश सरकारबाट बाहिरिएकाे मन्त्री आचार्यले जानकारी दिए ।

साथै मुख्यमन्त्री महराले आज बिहान ११ बजे बाेलाएकाे प्रदेश मन्त्री परिषद् बैठक समेत एमालेका मन्त्रीहरूले बहिष्कार गरेका थिए । एमालेका मन्त्रीहरूले मन्त्री परिषद् बैठक बहिष्कार गरेपछि आजका लागि बाेलाईएकाे क्याबिनेट समेत अनिश्चित बनेकाे छ । सरकारबाट बाहिरने तयारी भएकाेले मन्त्री परिषद् बैठकमा नबसेकाे मन्त्री आचार्यले भने ।

हामी सरकारबाट बाहिरिने तयारी गरेकाे बेला मुख्यमन्त्री महराले क्याबिनेट बैठक बाेलाउनु भएकाे थियाे । सरकारबाट बाहिरिने बेला पनि मन्त्री परिषद् बैठकमा बस्नुकाे कुनै अर्थ नभएपछि हामी बैठकमा नगएकाे मन्त्री आचार्यले बताए । राजिनामा बुझाउने तयारी गरिरहेकाे बेला मुख्यमन्त्री ज्यू ले मन्त्री परिषद् बैठक बाेलाउनुभयाे । यस्ताे अवस्थामा हामी मन्त्री परिषद् बैठकमा बस्नुकाे कुनै अर्थ नहरने भएकाेले हामी बैठकमा नगएकाे मन्त्री आचार्यले भने ।

यसैबीच एमाले सरकारलाई दिएकाे समर्थन समेत फिर्ता लिएकाे छ । नेकपा एमाले लुम्बिनी प्रदेशसभा स‌सदीय समितीले मुख्यमन्त्री र सभामुखलाई लिखित पत्र पठाएर वर्तमान मुख्यमन्त्री जाेखबहादुर महरालाई दिएकाे समर्थन फिर्ता लिएकाे जानकारी गराएकाे छ ।

मुख्यमन्त्री महरा नेतृत्वको सरकारमा एमाले अर्थ सहित पाँच वटा मन्त्रालय सहित सरकारमा सहभागी भएको थियो । मुख्यमन्त्री महरा लुम्बिनी प्रदेशसभामा ठूलो दल एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा तीन, नेकपा एकीकृत समाजवादीकी एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जना सांसदको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालकी सांसद अम्बिका काफ्लेले असार ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् ।

२९ जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिँदा महरा सरकार अल्पमतमा पर्छ । कांग्रेसका २७ सांसद छन् । लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ । कांग्रेस र एमाले मिल्दा लुम्बिनी प्रदेशसभामा ५६ जना सांसद संख्य पुग्छ ।

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालमा तीनवटा सरकार बनेका छन् । २०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि एमाले-माओवादी गठबन्धनबाट एमाले दल नेता लिला गिरी चार महिना मुख्यमन्त्री बने । २०८० वैशाख १४ गते कांग्रेस दल नेता डिल्लीबहादुर चौधरीले कांग्रेस-माओवादी गठबन्धनमा ११ महिना सरकारको नेतृत्व गरे । एमाले-माओवादी गठबन्धनमा माओवादी दल नेता जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे