लुम्बिनीमा एमालेका मन्त्रीहरू आजै राजिनामा दिंदै, क्याबिनेट बैठक समेत बहिष्कार



लुम्बिनीमा एमालेका मन्त्रीहरू आजै राजिनामा दिंदै, क्याबिनेट बैठक समेत बहिष्कार

भालुवाङ २० असार । लुम्बिनी प्रदेश सरकारबाट एमाले आजै बाहिरिन लागेकाे छ । केन्द्रमा एमाले र काँग्रेसकाे नयाँ समिकरण बनेपछि लुम्बिनीमा पनि त्यसकाे प्रभाव देखा परेकाे छ । केन्द्रमा नेकपा एमाले र नेपाली काँग्रेसको नयाँ समिकरण बनेपछि लुम्बिनी प्रदेश सरकारबाट एमाले आजै बाहिरिन लागेकाे हाे । प्रमुख सत्ता साझेदार दल एमालेले केन्द्रमा कांग्रेससँग मिलेर सरकार बनाउने समझदारी गरेपछि त्यसको प्रभाव लुम्बिनी सहित सातैमा प्रदेश सरकारमा देखा परेको छ ।

लुम्बिनीमा नेकपा एमाले सहित साना दलको समर्थनमा समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए । २०८० चैत २३ गते माओवादी संसदीय दलका नेता महराले एमाले सहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रमा बनेकाे नयाँ समिकरण अनुसार लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिन लागेकाे एमाले संसदीय दलका उप-नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । हामी प्रदेश सरकारबाट म सहित पाँचै जना मन्त्रीहरूले राजिनामा दिंदैछाैँ, मन्त्री आचार्यले भने । अहिले कतिपय मन्त्रीहरू बाहिर रहेकाे र देउखुरी आउन केही समय लाग्ने भएकाे हुँदा बेलुका ६ बजे मुख्यमन्त्री ज्यूकाे निवासमा पुगेर राजिना दिन्छाैँ, मन्त्री आचार्यले भन्नुभयाे । साथै उहाँले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिन तयारी भईरहेकाे बताउनुभयाे ।

साथै मुख्यमन्त्री महराले आज बिहान ११ बजे बाेलाएकाे प्रदेश मन्त्री परिषद् बैठक समेत एमालेका मन्त्रीहरूले बहिष्कार गरेकाे छन् । एमालेका मन्त्रीहरूले मन्त्री परिषद् बैठक बहिष्कार गरेपछि आजका लागि बाेलाईएकाे क्याबिनेट समेत अनिश्चित बनेकाे छ । सरकारबाट बाहिरने भएपछि किन मन्त्री परिषद् बैठकमा बस्नु त्यसैले हामी क्याबिनेट बैठकमा नगएकाे हाे मन्त्री आचार्यले भन्नुभयाे । हामी आज राजिनामा बुझाउने तयारी गरिरहेकाे बेला मुख्यमन्त्री ज्यू ले मन्त्री परिषद् बैठक बाेलाउनुभयाे । यस्ताे अवस्थामा हामी मन्त्री परिषद् बैठकमा बस्नुकाे कुनै अर्थ नहरने भएकाेले हामी बैठकमा नगएकाे मन्त्री आचार्यले भने ।

मुख्यमन्त्री महरा नेतृत्वको सरकारमा एमाले अर्थ सहित पाँच वटा मन्त्रालय सहित सरकारमा सहभागी भएको थियो । मुख्यमन्त्री महरा लुम्बिनी प्रदेश सभामा ठूलो दल एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा तीन, नेकपा एकीकृत समाजवादीकी एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जना सांसदको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालकी सांसद अम्बिका काफ्लेले असार ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् ।

२९ जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिँदा महरा सरकार अल्पमतमा पर्छ । कांग्रेसका २७ सांसद छन् । लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ । कांग्रेस र एमाले मिल्दा लुम्बिनी प्रदेशसभामा ५६ जना सांसद संख्य पुग्छ । अहिले महरा सरकारमा एमालेबाट दल उपनेता चेतनारायण आचार्य आर्थिक मामिला तथा योजनामन्त्री, दिनेश पन्थी आन्तरिक मामिला तथा कानुनमन्त्री, भूमीश्वर ढकाल सहरी विकास तथा खानेपानी मन्त्री, अर्जुन कुमार केसी वन तथा वातावरण मन्त्री र रत्नबहादुर खत्री सामाजिक विकासमन्त्री रहेका छन् ।

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालमा तीनवटा सरकार बनेका छन् । २०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि एमाले-माओवादी गठबन्धनबाट एमाले दल नेता लिला गिरी चार महिना मुख्यमन्त्री बने । २०८० वैशाख १४ गते कांग्रेस दल नेता डिल्लीबहादुर चौधरीले कांग्रेस-माओवादी गठबन्धनमा ११ महिना सरकारको नेतृत्व गरे । एमाले-माओवादी गठबन्धनमा माओवादी दल नेता जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे