लुम्बिनीमा : राजिनामा बुझाउन गएका एमालेका मन्त्रीहरुलाई मुख्यमन्त्री महराको बिदाइ भोज



लुम्बिनीमा : राजिनामा बुझाउन गएका एमालेका मन्त्रीहरुलाई मुख्यमन्त्री महराको बिदाइ भोज

भालुवाङ २० असार । लुम्बिनी प्रदेशमा सरकार छोड्ने भन्दै राजिनामा बोकेर मुख्यमन्त्री निकास पुगेका एमालेका मन्त्रीहरुलाई मुख्यमन्त्री जोखबहादुर महराले बिदाइ भोज आयोजना गरेका छन् । संघीय सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनीमा पनि एमालेका मन्त्रीहरूले सरकार छाड्न छोडेका हुन् ।

मन्त्रीहरूले सरकार छाड्ने भएसँगै मुख्यमन्त्री महराले आफ्नो निवासमा बिदाइ भोज आयोजना गरेका हुन् । ‘बस्ने र गफगाफ गर्ने, खाजासाजा खाऔं भन्ने हो,’ उनले हाँस्दै भने, ‘मेरो मन्त्रिमण्डलमा सहभागीहरूलाई निस्कँदा पनि राम्रै सम्मान साथ बिदा गर्नु पर्छ भन्ने राजनितिक संस्कारको शुरुवात गरिएको मुख्यमन्त्री महराले भने ।

उक्त बिदाई भोजमा एमालेबाट सरकारमा सहभागी भएका एमाले संसदीय दल उपनेता तथा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी, सहरी विकास तथा खानेपानी मन्त्री भूमीश्वर ढकाल, वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसी र सामाजिक विकास मन्त्री रत्नबहादुर खत्री सहभागी भएका थिए ।

बिदाई भोजमा लुम्बिनी प्रदेशसभामा सभामुख तुलाराम घर्ती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री धर्मबहादुर चौधरी, स्वास्थ्य मन्त्री दिपेन्द्रबहादुर पुन, उर्जा तथा जलस्रोत मन्त्री कृष्णा केसी र मुख्यमन्त्री तथा मन्त्रीहरुका निजी सचिव सहित अन्य कर्मचारी र पत्रकारहरुको समेत उपस्थिीति रहेको थियो ।

दुई घण्टा लामो बिदाई भोजमा सहभागी भएका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री महरालाई राजिनामा पत्र बुझाएका थिए । उनीहरुले केन्द्रमा एमाले र काँग्रेस बीच बनेको नयाँ समिकरण अनुसार केन्द्र सहित सात वटै प्रदेश सरकारबाट बाहिरिएको बताएका छन् । पार्टीको निणर्य अनुसार आफूहरुले राजिनामा दिनुका साथै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका छन् ।

यता मन्त्रीहरुको राजिनामा पत्र बुझ्दै मुख्यमन्त्री महराले केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेशमा पनि सरकार परिवर्तन हुन संघीयता बिरोधी भएको बताए । उनले संघले जे—जे गर्छ त्यही—त्यही प्रदेशले गर्ने हो भने संघीयता खतरामा पर्ने भन्दै चिन्ता व्यक्त गरे । मुख्यमन्त्री महराले अब प्रदेश सरकार कस्तो बनाउने बिषयमा प्रदेश कै सांसद र नेताले निणर्य गर्न पाउनुपर्ने माग समेत गरे । उनले संघीयता बचाउने हो, भने केन्द्रको मुख ताक्ने प्रबृतिको अन्त्य हुन जरुरी रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे