मुक्त कमैयाहरुको उचित व्यवस्थापन हुन नसक्नु दुखद पक्ष : अध्यक्ष विष्ट



मुक्त कमैयाहरुको उचित व्यवस्थापन हुन नसक्नु दुखद पक्ष : अध्यक्ष विष्ट

भालुवाङ ५ असार । दाङ-देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मुक्त कमैया घोषणा भएको २३ वर्ष बितिसक्दा पनि अहिले सम्म पनि उचित व्यवस्थापन हुन नसक्नु दुखद भएको बताएका छन् । एक्सन एड नेपालको सहयोग तथा मुक्त कमैया समाज र कमैया महिला जागरण समाजको सहकार्यमा राप्ती गाउँपालिका मसुरीया, दाङले बुधबार गाउँपालिकामा आयोजना गरेको मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन सम्बन्धी पालिका स्तरीय अभिमुखिकरणमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले मुक्त कमैयाहरुको तथ्याङ संकलन गरी उनीहरुको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व रहेको बताए । अध्यक्ष विष्टले असार ६ गते बाट खटिन लागेका गणकहरुलाई पालिकाबाट लिने तथ्याङमा यर्थात विवरण संकलन गर्न निर्देशन समेत दिए ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मुक्त कमैयाँहरुको समस्या सामाधानका लागि स्थानीय सरकार एक्र्लैले चाहेर मात्र नहुने भएकोले संघीय सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताइन् । साथै उनले डाटा संकलन गर्दा गैर मुक्तकमैयाँ पर्नु हुने र वास्तबिक मुक्तकमैयाँहरु छुट्नु नहुने गरी गम्भीर भएर डाटा संकलन गर्न गणहरुलाई निर्देशन समेत दिए ।

छुट मुक्तकमैयाहरुको लगत संकलन गरी उनीहरुलाई राज्यबाट प्रदान गरिने सेवा सुविधाका लागि परिचय पत्र प्रदान गर्न गणकहरुलाई अभिमुखीकरण गरिएको कमैया महिला जागरण समाजका परियोजना अधिकृत राजेन्द्र चौधरीले जानकारी दिए । गाउँपालिकाको १ देखि ८ वडा सम्म असार ६ गते देखि १६ जना गणकहरु ख्टिन लागेकोले सहि विवरण टिपाउन समेत परियोजना अधिकृत चौधरीले सवैमा आग्रह गरे ।

राप्ती गाउँपालिकामा हाल सम्म रातो कार्ड १७४, निलो कार्ड १६८, पहेलो कार्ड १४९ र सेतो कार्ड २७४ जना गरी कुल ७६५ जनाले परिचयपत्र पाइसकेका छन् । भने ८१५ जनाले विभिन्न प्रकृतिका परिचयपत्र पाउन बाँकी रहेको छ । अभिमुखीकरण कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, मुक्त कमैया समाज दाङका अध्यक्ष तथा केन्द्रिय महासचिव हरिचन्द्र चौधरी, कमैया महिला जागरण समाज दाङकी अध्यक्ष सुनरुपी चौधरी लगायतका वक्ताहरुले बोलेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली, वडा अध्यक्षहरु, वडा सचिवहरु र गणकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको विषयवस्तु बारे जानकारी कमैया महिला जागरण समाजका परियोजना अधिकृत राजेन्द्र चौधरीले गराएका थिए । भने कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे