पशुलाई परजीवीबाट जोगाउन राप्तीको ४ नम्बर वडामा डिपिङ ट्याङ्की निर्माण



पशुलाई परजीवीबाट जोगाउन राप्तीको ४ नम्बर वडामा डिपिङ ट्याङ्की निर्माण

भालुवाङ २४ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा भेडा, बाख्रालाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की निर्माण गरिएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ४ काे आर्थिक वर्ष २०८०/८१ काे करिब चार लाख रुपैयाँ लागतमा तीनवटा डिपिङ ट्याङ्की निर्माण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चाैधरीले जानकारी दिए । किसानहरूकाे भेडा बाख्रा लगायत अन्य पशु चाैपायाहरुलाई विभिन्न किसिमका आन्तरिक तथा बाह्य परजीवीबाट जोगाउन उक्त ट्याङ्की निकै उपयाेगी हुने अध्यक्ष चाैधरीकाे विश्वास छ।

“डिपिङ ट्याङ्कीकाे अभावमा पशुपालक किसानहरुलाई आफ्ना पशुहरु परजीवी बाट बचाउन समस्या थियो”, – वडा अध्यक्ष चाैधरीले भने-“ट्याङ्की निर्माण भए पछि किसानहरुलाई राहत मिलेको छ।याे कार्यक्रम किसानमुखी छ।” त्यस्तै वडा सदस्य विष्णु पाेख्रेलले यस कार्यक्रमले भेडा, बाख्रालाई बाह्य परजीवी (जुका, किर्ना, उपियाँ, लुतो ) लाग्नबाट नियन्त्रण गरी निरोगी बनाउन मद्दत गर्नुका साथै किसानलाई अत्यधिक विषादी प्रयोग गर्नबाट जोगाएर थोरै समय र कम लागतमा धेरै पशुको उपचार गर्न सकिने बताए ।

किसानहरुलाई पाएक पर्ने गरि वडाले नयाँगाउँ,मझनीगढ र गाेपीनाला गरि ३ ठाउँमा ट्याङ्की निमार्ण गरेको छ। निश्चित मापदण्ड अपनाएर सिमेन्टबाट बनाइएको उक्त ट्याङ्कीमा कीटनाशक झोल र पानी राखेर मिश्रण गरि बाख्रा, भेडा, कुकुर लगायतका पशुहरुकाे आँखा, नाक, मुख सुरक्षित हुने गरी शरीर डुबाएर उपचार गरिने हुँदा किसानहरू यस तर्फ आकर्षित भएकाे पशु प्राविधिक कमल पुन मगरले बताए ।

बिहिवार मात्रै नयाँगाउँमा रहेको साे ट्याङ्की बाट ४ सय बढी बाख्रालाई निःशुल्क उपचार गरिएको छ भने शुक्रबार मझनीगढ र शनिबार गाेपीनाला बाट साे सेवा प्रदान गरिने वडा कार्यालयले बताएको छ। आफूहरुले पालेका पशुहरुलाई परजीवी बाट बचाउन गाउँमै नि:शुल्क सेवा पाएपछि किसानहरू खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे