LISTEN LIVE RADIO

सर्वोदयको अभिभावक भेला सम्पन्न : स्वेच्छिक सहयोग गर्न चाहाने बाहेकको शुल्क फिर्ता गरिने



सर्वोदयको अभिभावक भेला सम्पन्न : स्वेच्छिक सहयोग गर्न चाहाने बाहेकको शुल्क फिर्ता गरिने

भालुवाङ १२ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयले भर्नाको नाममा अवैधानिक तरिकाले लिएको शुल्क फिर्ता गर्ने भएको छ ।बुधवार विद्यालयले अभिभावक भेला राखेर अभिभावककै सल्लाह सुझाव बमोजिम हाल सम्म भर्नाका नाममा विभिन्न शिर्षकका नाममा लिएको शुल्क फिर्ता गर्ने निर्णय गरेको हो । शिक्षक अभिभावक संघका संयोजक रोहन चौधरीको अध्यक्षतामा बसेको बैठकले विद्यालयलाई सहयोग गर्न चाहानेले स्वेच्छिक सहयोग गर्न सक्ने र बुझाएको शुल्क फिर्ता लग्न चाहाने अभिभावकले बुझाएको रसिद र निवेदन दिएर शुल्क फिर्ता लग्न सक्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर केसीले जानकारी दिएका छन् ।

मुलुकको ‘अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७’ परिच्छेद २ को ५ नं बुँदामा माध्यमिक तह सम्मको शिक्षामा शुल्क लिन नपाइने लेखिएको छ । उक्त बुँदामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक वापतको रकम केहीपनि लिन नपाइने भनिएको छ । तर सो विद्यालयले भने कक्षा ४ देखि १० सम्म विद्यार्थी भर्ना सँगै अभिभावक सहयोग भन्दै कक्षा अनुसार फरकफरक शुल्क उठाउँदै आएको अभिभावकहरुले गुनासो गरेपछि गणतन्त्र राष्ट्रिय दैनिक, देउखुरी टुडे डटकम, बुद्ध आवाज टेलिभिजन लगायतका सञ्चार माध्यमबाट समाचार प्रकाशन तथा प्रसारण भएपछि विद्यालयले २ दिन पछि अभिभावक भेला राखेर रकम फिर्ता दिने निर्णय गरेको हो ।

सो विद्यालयले विद्यालय सञ्चालनका लागि अभिभावकको सहयोग भन्दै कक्षा ४ लाई ४ सय, ५ लाई ५ सय, ६ लाई ६ सय, ७ लाई ७ सय, ८ लाई ८ सय, ९ लाई ९ सय र १० लाई १ हजारका दरले शुल्क लिएको थियो । विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर केसीले विद्यालयका सञ्चालनका लागि फर्निचर मर्मत, खानेपानी, बिजुली बत्तीको बिल, शौचालय सरसफाई, खेलकुल लगायतका शिर्षकमा शुल्क लिदा प्रकृया पुरा नगरेको स्वीकार गरेका थिए ।  यता अभिभावकहरुले कुने पनि वाहानामा शुल्क लिन नहुने, पढाईको गुणस्तरमा सुधार ल्याउनुपर्ने र स्कुल बस सञ्चालनको माग गरेका छन् । २०१६ सालमा स्थापना भएको यस विद्यालयमा गत वर्षको रेकर्ड अनुसार ११ सय ७८ विद्यार्थी अध्यनरत् छन् । सरकारले माध्यमिक तहसम्म शिक्षामा कुनैपनि वाहनामा शुल्क लिन नपाइने भनेर भनेपनि विद्यालयहरु भने विद्यालय सञ्चालनका लागि भन्दै घुमाउरो तरिकाबाट अभिभावक सँग शुल्क उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे