आशाका किरण संस्थाको पहलमा मुनलाइट माविले देवी कुमाललाई निशुल्क पढाउने



आशाका किरण संस्थाको पहलमा मुनलाइट माविले  देवी कुमाललाई निशुल्क पढाउने

भालुवाङ ७ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको मुनलाइट माध्यमिक विद्यालयले क्यान्सर पीडित सुनिल कुमाल तथा मनु कुमालकी छोरी देवी कुमाललाई निशुल्क पढाउने भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी मुख तथा गालाको क्यान्सरबाट बिहीबार मात्र ज्यान गुमाएका सुनिल कुमालको छोरीलाई आशा किरण संस्थाको पहलमा मुनलाइट माध्यमिक विद्यालयले निशुल्क पढाउने भएको हो। श्रीमानको उपचार गराउँदा गराउँदै भएभरको सम्पत्ति सिद्धिएपछि छोराछोरीलाई पढाउन नसकिने अवस्था आएपछि दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले मुनलाइट माध्यमिक विद्यालयसँग पहल गरी निशुल्क रुपमा पढाउन थालेको हो। बिहिबार आशाका किरण संस्था र विद्यालयको दुईपक्ष समझदारीमा देवी कुमाललाई कक्षा १ मा भर्ना गरिएको छ। छोरीको इच्छा अनुसार संस्थागत विद्यालयमा आफूले पढाउन पाउँदा निकै खुसी लागेको मनु कुमालले बताइन् ।

कुमाल परिवारले छोरीलाई पढाउन नसकेको जानकारी पाएपछि आशाका किरण संस्थाले देवी कुमाललाई संस्थाको पहलमा पढाउनु पर्छ भनेर सोही विद्यालयको कक्षा १ मा भर्ना गर्न सफल भएको संस्थाका अध्यक्ष अशोक बेल्वासेले बताए ।  सामाजिक उत्तरदायित्व अनुसार विद्यालयमा भएको दुई पक्ष बीचको समझदारी अनुसार विद्यालयले कक्षा १२ सम्म कुनै पनि प्रकारको शुल्क नलिने गरि देवी कुमाललाई कक्षा १ मा भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक विभिषण अधिकारीले बताए ।  विद्यालयले निशुल्क पढाउने र स्कुल ड्रेस, कापी, कलम र किताब भने आशाका किरण संस्थाले बेहोर्ने सहमति भएको छ । अब देवी कुमालले कक्षा १२ सम्म निशुल्क पढ्न पाउने भएकी छन् । देवी कुमाल त एक उदाहरणीय पात्र मात्र हुन् उनी जस्तै समाजमा रहेका गरिव विपन्न तथा बेसहाराका छोराछोरीलाई सामुदायिक तथा संस्थागत विद्यालय निशुल्क पढाउने वातावरण बनाउन सके कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था आउने छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे